खेल

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि इन्डोनेसियाका रामालाई

पोखरामा आयोजित अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस (पोखरा एन्ड्युरो)को उपाधि इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन्। उनले पाँच ट्रयाकको ११.९२० किमीको दुरी ९ मिनेट ५९ दशमलव ५२ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन्। विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे।  

युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थान बनाउन सफल भए। किलिङले सोही दुरी १० मिनेट १६ सेकेण्ड ९७ मिलिसेकेण्डमा पार गरेभने प्रचितले १० मिनेट ३६ सेकेण्ड १३ मिलिसेकेण्डमा पार गरे। यससँगै किलिङले नगद ३० हजार सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरे भने प्रचितले नगद २० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे।

महिला तर्फ भने नेपालकी लक्ष्मी मगरले प्रथम, नेपालकै मिङमा याङ्जी शेर्पाले दोस्रो र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गर्न सफल भए। उनीहरुले १० किमी ५०० मिटरको दुरी क्रमशः ९मिनेट ५३ सेकेण्ड, ११ मिनेट २५ सेकेण्ड र १५ मिनेट ३५ सेकेण्ड पार गरे। योसँगै उनीहरुले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजार सहित प्रमाणपत्र, मेडर र गिफ्ट ह्याम्पर प्राप्त गरे। 

१८ वर्षसम्मका पुरुष जुनियर तर्फ नेपालका बिपुल थापा प्रथम हुन सफल भए। उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए। उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे। ३० देखि ३९ वर्ष समुहका लागि मास्टर्स ‘क’ विधामा राजन भण्डारी प्रथम, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो हुन सफल रहे। तीनै जना नेपालका खेलाडीले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे।

४० देखि ४९ वर्षसम्मका लागि मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले प्रथम, रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान बनाउन सफल भए। उनीहरु सबै नेपाली हुन्। उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे। ५० वर्षभन्दा माथीका समूहका लागि भेट्रान विधा तर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधान क्रमशः प्रथम, दोस्रो र तेस्रो भए। नेपालका उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे।

नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम प्रथम हुन सफल भएभने विश्वास मोदी दोस्रो भए। उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे। प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएको प्रतियोगिताका रेस निर्देशक सुनिलचन्द्र शर्माले बताए।माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा तीन दिनसम्मपोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडा(महाप्रभु धाम)मा प्रतियोगिता गरिएको थियो।

प्रकाशित: १० मंसिर २०८० ११:०८ आइतबार

अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस