खेल

मंसिर दोस्रो साता पोखरामा ‘फिस्टेल रेसिङ कप’

राईडरको पाँचलाखसम्मको उपचार विमा

पोखरामा पोहोर भएको मोटरबाइक रेस प्रतियोगिता। फाइल तस्बिरः नागरिक

पोखरा रंगशालामा दोस्रो पटक मोटरबाईक रेस हुने भएको छ। नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले आगामी मंसिर दोस्रो साता आयोजना गर्ने ‘फिस्टेल रेसिङ कप २०२३’ नेपालकै बृहत हुने दावी गरेको छ।  

‘लामो ट्रयाक भएको बाईक रेस हो। त्यसैले हामीले नेपालकै बृहत भएको अनुमान गरेका छौं’ भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाले भने,‘पहिला रंगशालाभित्रकै कालोपत्रेको पनि आधा बाटोलाई ट्रयाकको रुपमा प्रयोग गरेका थियौं। अहिले त्यसको दोब्बर हुन्छ।’ पोखरालाई साहसिहक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यसहित बाइक रेस आयोजना गरिएको उनको भनाई थियो। ट्रयाक झण्डै डेढकिलोमिटर लामो हुने अनुमान छ । नोभेम्बर २४ र २५ तारिख (मंसिर ८–९ गते) हुने रेसको इभेण्टसँगै आयोजकले दर्शकको लागि फुड एण्ड म्युजिकलाई समावेश गर्ने जनाएको छ।  

जिल्ला खेलकुद विकास समिति कास्कीबाट बाईक रेसको लागि स्वीकृति लिईसकेको प्रालिका निर्देशक थापाले जानकारी गराए। रेसमा एकसय भन्दा बढी राईडरको सहभागिता रहने विश्वास उनको छ। ‘एकपटकमा दशजनालाई सहभागिता गराउँछौं,’ उनले भने, ‘टाईमल्यापको आधारमा छनोट गरिनेछ।’ उनका अनुसार आयोजकले छनोटको लागि दिने टाईम ल्यापभित्र आएको अवस्थमा मात्रै छनोट हुने छन्। प्रत्येक राईडरले १० ल्याप घुम्नुपर्ने हुन्छ। उत्कृष्ट टाईमिङकै आधारमा राईडर फाईनल ल्यापको लागि छनोट हुने उनले जानकारी दिए।  

निर्देशक थापाका अनुसार राईडरले सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाउनुपर्ने हुन्छ। नासा र आयोजकको मापदण्ड पुरा गरेका राईडरको दुर्घटना विमा हुने उनको भनाई थियो। ‘राईडरले आवश्यक सबै मापदण्ड पुरा गरेको हुनुपर्छ’ उनले भने–‘रेसमा भाग लिएका राईडरको सुरक्षाको मापदण्ड नपुगे विमाको सुविधाबाट बन्चित हुनसक्छन्।’ आयोजकले पाँचलाखसम्मको दुर्घटना विमा गरेको छ। 

‘राईडरलाई कुनै चोटपटक लागेको अवस्थामा अस्पतालमा पाँचलाखसम्मको उपचार विमाबाट हुन्छ,’ उनको भनाई थियो। प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरि दुई प्रकारका बाइकको प्रयोग हुनेछ। उनका अनुसार राईडरले आफनै मेकानिक राख्नुपर्ने प्रावधान छ। ‘राईडरको टिम प्याडक(छाता ओढाउने) र मेकानिक हुनैपर्छ,’ उनको भनाई थियो।  

राईडरले बाईकको टायर जुनसुकै ब्राण्डको प्रयोग गर्न पाउने छ। तर सफ्टर र हार्डर टायर हुनुपर्ने छ। त्यसैगरी राईडरले आफनो बाईकमा अन्तर्राष्ट्रिय ब्राण्डको स्टिकर(लोगो) वा अन्तराष्ट्रिय बाईक रेसरले प्रयोग गर्ने लोगो प्रयोग गर्न पाउँदैनन् । ‘नेपालकै जुनसुकै ठाँउ वा कृषिजन्य उत्पादनलाई लोगोको रुपमा प्रयोग गर्न पाउँछन’ उनले भने–‘विदेशी लोगो बाईकमा प्रयोग गर्न पाईदैन्।’  

प्रालि इटालियन रेसिङ टिमको नेपाल शाखाको रुपमा रहेको छ। विदेशमा बाईक रेसलाई खेलकुदको रुपमा आयोजना गर्दै आएको छ। गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरुलाई दोश्रो संस्करणको तयारीसंगै लामो ट्रयाकमा आयोजना गर्ने जमर्को गरिएको सुनाए। रोड सेफ्टीका विषयमा समेत धेरै यूवाहरुलाई प्रशिक्षण प्रदान उनले सुनाए।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमश जनही नगद रु १ लाख, ७५ हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। विजेता तीनै जना बाईक राईडरलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको लागि पठाईने आयोजकले जनाएको छ। प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च अनुमान छ।  

प्रकाशित: ३ कार्तिक २०८० ०९:०७ शुक्रबार

पोखरा फिस्टेल रेसिङ कप