खेल

दर्ता र नवीकरण नभएका संघ खारेज गर्न निर्देशन

प्रदेश खेलकुद परिषद् गण्डकीले खेल संघलाई अनिवार्य दर्ता गर्न परिपत्र गरेको छ। परिषद्ले एघारवटै जिल्लामा खेल संघलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा दर्ता एवं नवीकरण गर्न ३५ दिने सूचनासहित पत्राचार गरेको छ।  

प्रदेश खेलकुद परिषद् गण्डकीले यही भदौ ११ गते संघहरूको नाममा जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरिसकेको छ। पत्राचार गरे पनि बिदाकै कारण सूचना दिन केही दिन ढिलाइ भएको प्रदेशले जनाएको छ। भदौ ११ गते सूचित पत्रअनुसार ३५ दिनभित्रमा सम्बन्धित संघलाई खेलकुद विकास समितिमा दर्ता हुन आग्रह गरिएको प्रदेश खेलकुद गण्डकीका सदस्यसचिव श्रीधर शर्माले जानकारी दिए। ‘संघ सम्बन्धित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा दर्ता वा नवीकरण नभए खारेज हुन्छ,’ उनले भने, ‘सूचना भदौ ११ गते निकाल्यौं। ३५ दिनभित्रमा संघहरू सबै दर्ता वा नवीकरण हुनुपर्नेछ।’ उनका अनुसार जिल्ला खेलकुद विकास समितिमा दर्ता नभएका संघलाई कुनै पनि प्रतियोगितात्मक गतिविधिमा सहभागी नगराउनुका अलावा बजेटसमेत उपलब्ध गराइने छैन।  

संघ दर्ताका लागि दुई हजार रूपैयाँ शुल्क तोकिएको छ। नवीकरणका लागि एक हजार रूपैयाँ शुल्क निर्धारण गरिएको छ। ‘जिल्लामा दर्ता नभएका संघहरूलाई लेटरहेडसमेत प्रयोग गर्न वर्जित गरिएको छ। त्यसका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचारसमेत भइसकेको छ।’ कास्कीमा ५० भन्दा बढी खेल संघ छन्। कतिपय संघ सक्रिय छन् भने कतिपय केवल नाम मात्रैका। जिल्ला खेलकुद विकास समितिका कास्कीका कार्यालय प्रमुख सुनबहादुर लामाका अनुसार कास्कीमा ५० भन्दा बढी संघ भए पनि केही संघ मात्रै दर्ता भएका छन्। ‘हक्की संघको नयाँ कार्यसमिति गठन भएसँगै जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको छ,’ उनले भने,‘अन्य संघ पनि दर्ताको प्रक्रियामा छन्।’ उनका अनुसार तेक्वान्दो, बक्सिङ तथा भलिबल संघ दर्ताको प्रक्रियामा छन्। दर्ता भएका संघलाई प्रमाणपत्र उपलब्ध गराइनेछ।  

प्रदेश खेलकुद परिषद्बाट संघ दर्ता वा नवीकरणका लागि जिल्लामा सूचना सोमबार मात्रै आइपुगेकाले सम्बन्धित खेल संघलाई जानकारी गराइएको कार्यालय प्रमुख लमाले बताए। उनका अनुसार भदौ ११ गते प्रदेश खेलकुद परिषद्ले सूचना जारी गरे पनि जनै पूर्णिमाको बिदा र शनिबार भएकाले पनि जिल्लामा पत्र सोमबार मात्रै आइपुगेको उनले जानकारी दिए। ‘पत्र आएको छ। जिल्ला खेलकुद विकास समितिले अब जिल्लाभित्रका संघलाई अनिवार्य दर्ता र नवीकरण गर्न सूचना गर्छौं,’उनले भने,‘केही संघलाई सूचना भइसकेको छ। सबै संघलाई यो हप्ताभित्रमा सूचना दिनेछौं।’ उनले बुधबार बिदा भएकोले पनि बिहीबार सबै संघलाई जानकारी गराइने बताए।  

जिल्ला खेलकुद विकास समिति कास्कीले भइरहेका संघहरूलाई आफ्नो वार्षिक, आर्थिक प्रतिवेदनलगायतका सबै कागजपत्र पेस गर्नुपर्ने निर्देशनसमेत गरेको छ। केही खेल संघले जिल्ला खेलकुद विकास समितिलाई प्रतिवेदन बुझाउँदै आएका छन्। तर धेरैजसो संघले आफनो वार्षिक तथा आर्थिक प्रतिवेदन बुझाएका छैनन्। प्रतिवेदन नबुझाउने संघहरूलाई कडाइ गर्न प्रदेश खेलकुद परिषद् गण्डकीले जिल्ला खेलकुद विकास समितिमा अनिवार्य दर्ता र नवीकरण गर्नुपर्ने प्रावधान ल्याएको हो। 

प्रकाशित: २० भाद्र २०८० ००:४६ बुधबार