खेल

'भविष्यमा फ्रान्सलको जिम्मा जिदानालाई'

पेरिस- फ्रान्स फुटबल संघका अध्यक्ष नोइल ली ग्रेटले रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान एक दिन फ्रान्सको प्रशिक्षक बन्ने बताएका छन्। 'यो एउटा तर्कसंगत निरन्तरता हुनेछ। जिदानले इच्छा देखाएपछि त्यो दिन पक्कै आउनेछ,' आरएमसी रेडियोसँगको कुराकानीमा नोइलले भने, 'जिदान फ्रान्सेली फुटबलका एउटा अमूल्य सम्पत्ति हुन्। खेलाडीका रूपमा उनले देशलाई धेरै योगदान गरेका छन्। उनी विश्वकै सर्वोत्कृष्ट खेलाडी थिए। अहिले प्रशिक्षकका रूपमा पनि उनले आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरिसकेका छन्।'

फ्रान्सले १९९८ मा विश्वकप तथा त्यसको दुई वर्षपछि युरोपियन च्याम्पियनसिप जित्दाका मुख्य नायक जिदानले रियाल मड्रिडमा मुख्य प्रशिक्षकका रूपमा पहिलो वर्ष बिताउने क्रममा टोलीलाई महत्वपूर्ण सफलता दिलाएका छन्। आफूले खेलजीवनको अन्त्य गरेकै क्लब रियाललाई प्रशिक्षकको भूमिकामा पनि ४४ वर्षे जिदानले हालै सम्पन्न सिजनमा दुई महत्वपूर्ण उपलब्धि दिलाए।

 जिदानको नेतृत्वमा टोलीले २०१२ पछि पहिलो पटक बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको उपाधि जित्नुका साथै युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो च्याम्पियन्स लिग पनि जितेको छ। अघिल्लो वर्ष प्रशिक्षकको जिम्मेवारी लिएको केही समयमै रियाललाई उनले च्याम्पियन्स लिग जिताएका थिए। यसपालि पनि उपाधि जितेपछि रियाल आधुनिक कालको च्याम्पियन्स लिगमा उपाधि रक्षा गर्ने पहिलो क्लब बनेको छ।

'मेरो विचारमा उनले अझै रियालका लागि धेरै गर्न सक्छन् र रियाल मड्रिड उनलाई सुहाउने क्लब हो,' नोइलले जिदानको सफलता कथाबाट आफू आश्चर्यमा परेको बताउँदै भने, 'उनले अहिले जे गरिरहेका छन् र जसरी रियाललाई सफलता दिलाइरहेका छन्, त्यो पत्याउन मलाई गाह्रो भइरहेको छ। तर सत्य यही हो। दुई/तीन वर्षअघि एक पटक मैले उनलाई बोर्डेउक्स वा अन्य कुनै लिग वान क्लबबाट प्रशिक्षकको करियर सुरु गर्न सुझाएको थिएँ। तर उनी अहिले रियाल मड्रिडजस्तो ठूलो क्लबबाट विश्वकै सर्वोत्कृष्ट प्रशिक्षकका रूपमा स्थापित भएका छन्।'

प्रकाशित: २ असार २०७४ ०३:३१ शुक्रबार

भविष्यमा फ्रान्सलको जिम्मा जिदानालाई