खेल

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा

ग्रस आइसलेट- वेस्ट इन्डिजविरुद्ध बुधबार सम्पन्न तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला १–१ को बराबरीमा टुंगिएपछि अफगानिस्तानका कप्तान अशघर स्टानिकजाईले आगामी दिनमा शीर्ष टोलीहरूसँग निरन्तर खेल्न पाइरहने आशा व्यक्त गरेका छन्।

सेन्ट लुसियाको डारेन सामी रंगशालामा भारी वर्षाका कारण बुधबार तेस्रो तथा अन्तिम एकदिवसीय खेल सुरु नभईकनै रद्द भएको थियो। निर्णायक खेल वर्षाका कारण रद्द भएपछि शृंखला बराबरीमा टुंगिएको थियो।

ट्वान्टी–२० शृंखला ३–० को नतिजामा हारे पनि अफगानी टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का पूर्ण सदस्यहरूसँग नियमित रूपमा खेल्न आफूलाई हकदारका रूपमा प्रमाणित गरेको स्टानिकजाईको जिकिर थियो। 'हामीले आफ्नो क्षमताअनुसार उच्चतम प्रदर्शन गर्न सकेनौं। तर मेरो विचारमा हामी ठूला टिमसँग खेल्न लायक छौं भन्ने प्रमाणित गर्न भने चुकेका छैनौं। हामीले नियमित रूपमा टेस्ट राष्ट्रसँग खेल्न आफूलाई हकदारका रूपमा प्रमाणित गरेका छौं,' स्टानिकजाईले भने, 'वेस्ट इन्डिजको भ्रमण हाम्रा लागि एउटा अत्यन्तै विशेष अवसर रह्यो। यहाँबाट हामीले धेरै सिक्ने र अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई थप प्रमाणित गर्ने मौका पायौं। यहाँको अनुभवले हामीलाई आगामी दिनमा धेरै सहयोग पुग्नेछ।'

वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले पनि आइसिसीको एसोसिएट सदस्य राष्ट्रले आफ्नो टोलीलाई कडा चुनौती दिएको स्विकारे। 'पहिलो खेलमा पराजित भए पनि हामीले दोस्रो खेलमा पुनरागमन गर्‍यौं। यसअघि पाकिस्तानविरुद्धको शृंखलामा पनि हामीले राम्रो गरेका थियौं। हामी विश्वका उत्कृष्ट टोलीसँग खेल्न सक्षम छौं,' उनले भने, 'हामीले आफ्नो प्रदर्शनमा एकरूपता ल्याउनु जरुरी छ। त्यसो भयो भने अन्तर्राष्ट्रिय क्रिकेटमा हाम्रो वरीयता पनि माथि उठ्नेछ।'

वेस्ट इन्डिज हाल आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताक्रमको नवौं स्थानमा छ। आउँदो सेप्टेम्बरको समयसीमाभित्र शीर्ष आठमा उक्लिन नसके २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकपका लागि वेस्ट इन्डिजले छनोट प्रतियोगिता खेल्नुपर्नेछ।

दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा गरी ४४ रन खर्चिंदै १० विकेट लिएका अफगानिस्तानका लेग स्पिनर रसिद खान म्यान अफ दी सिरिज घोषित भए। 'यो भ्रमण मेरा लागि अत्यन्तै लाभदायी रह्यो। इन्डियन प्रिमियर लिगपछि अफगानिस्तानको टिमबाट करियर अघि बढाउने यो मौकाले मलाई धेरै आत्मविश्वास दिएको छ,' उनले भने, 'अर्को महिना हामीले लर्ड्समा एमसिसीसँग खेल्नु छ। यहाँको अनुभवले त्यहाँ फाइदा पुग्ने मैले आशा गरेको छु।'

प्रकाशित: २ असार २०७४ ०३:२५ शुक्रबार

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा