खेल

यु–१६ यूथ फुटबल लिग: चर्च ब्वाइजमाथि संकटाको जित

संकटा क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा चर्च ब्वाइज क्लबमाथि ४–१ को फराकिलो जित निकालेको छ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी यूथ लिगमा आज संकटाले चर्च ब्वाइजमाथि फराकिलो जित निकालेको हो। जारी लिगमा संकटाको दोस्रो खेलमा पहिलो जित हो। पहिलो खेलमा भने संकटा एपिएफसँग २–१ ले स्तब्ध भएको थियो। चर्च ब्याइजले भने लगातार दोस्रो हार बेहोरेको छ। यस अघि पहिलो खेलमा चर्च ब्वाइज फ्रेण्ड्स क्लबसँग २–० ले पराजित भएको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगमा संकटाका लागि सबिनकुमार लुंगेली मगरले दुई गोल तथा रूपेश भुजेल र कृष्णबहादुर आलेले समान एक गोल गरे।

चर्च ब्याइजका कुनाल जिम्बाले एक गोल फर्काए। खेलको १६ औं मिनेटमा संकटाका दिलेन लिम्बूले डिएरियाभित्र प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन्। उनको फितलो प्रहार चर्च ब्याइजका रोहन परियारले सहजै बचाउ गरे। तर, २४औं मिनेटमा सविनले गोल गर्दै संकटालाई अग्रता दिलाए। मनिष थापामगरले दिएको लामो पास नियन्त्रणमा लिँदै सविनले गोल गरेका हुन्। त्यसको चार मिनेटपछि नै संकटाले अर्को गोल गर्‍यो। किशोरकुमार दनुवारको कर्नर पासमा सविनले हेडमार्फत दोस्रो गोल गरे। 

पहिलो हाफको थप समयमा दिलेनको अर्को प्रहार चर्च ब्याइजका गोलकिपर रोहनले मुस्किलले बचाउँदा संकटाले फराकिलो अग्रता लिने अवसर गुमायो। दोस्रो हाफमा पनि संकटाले दुई गोल थप्दा चर्च ब्याइजले एक गोल फर्कायो। ५३औं मिनेटमा कुनाल जिम्बाले लामो पास नियन्त्रणमा लिँदै काउन्टर अट्याकमार्फत गोल गरे। त्यो गोलसँगै चर्च ब्वाइज खेलमा फर्केन संकेत गर्‍यो। यद्यपि, ८० औं मिनेटमा संकटाले तेस्रो गोल गर्‍यो। चर्च ब्याइजका डिफेन्डर युर्गेन रुम्बाले ब्याक पास नियन्त्रणमा लिन नसक्दा उक्त बल खोस्दै संकटाका रूपेश भुजेलले गोल गरेका हुन्।

८५औं मिनेटमा संकटा अर्को गोल थप्दै फराकिलो जिततर्फ अग्रसर भयो। डिएरियामा चर्च ब्याइजका खेलाडीले लडाएपछि संकटाले पेनाल्टी अवसर पायो। उक्त पेनाल्टीमा कृष्णबहादुर आलेले गोल गर्दै संकटालाई फराकिलो जित दिलाए। कुल १० टोली सहभागी यूथ लिगमा दोस्रो चरणको खेल शुरु भएको छ। आगामी ६ महिनासम्म चल्ने लिगमा मनाङ र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेन्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिष्पर्धा गर्दैछन्। लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा हुनेछन्। उक्त खेलहरू शनिबार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन्। 

प्रकाशित: ४ श्रावण २०८० १३:५१ बिहीबार