खेल

फ्रान्सको स्वतः छनोटमा रोकावट

पेरिस- स्विडेनसँग शनिबार २–१ लेे पराजित भएसँगै अर्को वर्ष रूसमा हुने विश्वकपमा स्वतः छनोट हुने फ्रान्सको यात्रा केही कठिन बनेको छ।

विश्वकप छनोट चरणअन्तर्गत शनिबार सम्पन्न युरोपेली छनोट खेलमा अग्रता भने फ्रान्सले लिएको थियो। ३७औं मिनेटमा ओलिभर जिरौडले फ्रि–किकमा गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो।

तर ४३औं मिनेटमा जिम्मी डुर्माजले लुड्विङ अगस्टिन्सनको पासमा गोल गर्दै स्विडेनलाई खेलमा फर्काएका थिए। अतिरिक्त समयको तेस्रो मिनेटमा ओला तियोभेनेनले गोल गर्दै स्विडेनका लागि महत्वपूर्ण ३ अंक पक्का गरेका थिए। उनले फ्रान्सका गोलकिपर ह्युगो लोरिसको गल्तीको फाइदा उठाउँदै बललाई पोस्टको दिशा दिएका थिए।

यस जितपछि समूह ‘ए’ मा ६ खेलको समाप्तिमा १३ अंक जोडेको स्विडेन शीर्ष स्थानमा उक्लँदा समान खेलबाट समान अंक जोडे पनि गोलअन्तरका आधारमा पछि रहेको फ्रान्स दोस्रो स्थानमा झरेको छ। प्रत्येक समूहको शीर्ष टोली स्वतः विश्वकपमा छनोट हुनेछन्। उत्कृष्ट आठ समूहका उपविजेताले प्लेअफ खेल्नेछन्।

विश्वकप छनोटमा पहिलो हार व्यहोरेको फ्रान्सले अब अगस्ट ३१ मा महत्वपूर्ण मानिएको खेलमा तेस्रो स्थानको नेदरल्यान्ड्सको सामना गर्नेछ।

‘यस नतिजाले कठिन परिस्थतिको सिर्जना गरेको छ,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पस्ले भने, ’ म गोलकिपर ह्युगोमाथि दोष थुपार्न चाहन्नँ,' उनी टोलीका लागि सधैँ महत्वपूर्ण सदस्य हुन् तर यो महंगो साबित भइदियो। बराबरी पनि सुखद नतिजा होइन तर त्यो हाम्रा लागि महत्वपूर्ण अंक हुने थियो, जसले गर्दा हामीले स्विडेनलाई पछि पार्ने थियौं।’

शनिबार नै सम्पन्न समूह 'ए' को अर्को खेलमा नेदरल्यान्ड्सले लक्जेम्बर्गमाथि ५–० को प्रभावशाली जित हात पार्दै विश्वकप छनोट सम्भावना जीवित राखेको छ।

नयाँ प्रशिक्षक डिक एड्भोकाटको प्रशिक्षणमा पहिलो पटक मैदानमा उत्रिएको नेदरल्यान्ड्सको जितमा आर्येन रोबेन, वेस्ली स्नाइडर, जर्जिनियो विज्नाल्डम, क्वेन्सी प्रोमेस र भिसेन्ट जानसेनले समान एक गोल गरेका थिए।

यस जितपछि ६ खेलको समाप्तिमा १० अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा यथावत् छ।

त्यस्तै बेलारुसले बुल्गेरियालाई २–१ ले पराजित गरेको छ।

विश्वकप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा स्विजरल्यान्डले फारोइ आइसल्यान्डलाई २–० ले पराजित गरी शीर्ष स्थानमा रहँदै स्वतः विश्वकपमा छनोट हुने सम्भावना जीवित राखेको छ।

स्विजरल्यान्डको जितमा ग्रानिट जाकाले ३६आंै र जार्डान साकिरीले ५९औं मिनेटमा समान एक गोल गरेका थिए।

यस जितपछि ६ खेलको समाप्तिमा शतप्रतिशत नतिजा निकालेको स्विजरल्यान्ड १८ अंकका साथ शीर्ष स्थानमा यथावत् छ। समान खेलबाट १५ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा यथावत् छ।

 दोस्रो स्थानको पोर्चुगलले पनि लाट्भियालाई ३–० ले पराजित गरी शीर्ष स्थानमा रहँदै विश्वकपमा स्वतः छनोट हुने सम्भावना जीवित राखेको हो।

पोर्चुगलको जितमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४१ र ६३औं मिनेटमा गरी दुई तथा आन्द्रे सिल्भा(६७) ले एक गोल गरेका थिए।

समूह ‘बी’ को अर्को खेलमा एन्डोराले हंगेरीमाथि १–० को अप्रत्याशित जित दर्ता गरेको छ।

यता बेल्जियमले पनि समूह ‘एच’ मा इस्टोनियालाई २–० ले पराजित गरी शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने सम्भावना थप मजबुत पारेको छ। बेल्जियमको जितमा द्रिइस मार्टिन्सले (३१औं) र नासिर चाड्ली (८६औं) ले समान एक गोल गरेका थिए।

यस जितपछि ६ खेलको समाप्तिमा १६ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा यथावत् रहँदा बोस्नियासँग गोलरहित बराबरी खेलको ग्रिस (१२) दोस्रो स्थानमा यथावत् छ।

पोर्चुगलको जितमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ४१ र ६३औं मिनेटमा गरी दुई तथा आन्द्रे सिल्भाले ६७औं मिनेटमा एक गोल गरेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७४ ०४:२२ आइतबार

फ्रान्सको स्वतः छनोटमा रोकावट