खेल

बीस लाखमा आर्मी र पुलिसको दाबी

काठमाडौं- घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधि छिनोफानो गर्दा दुई विभागीय टोली आमनेसामने हुनेछन्।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिसको टोलीबीच प्रधानमन्त्री कपको पहिलो संस्करणमा उपाधिसँगै नगद २० लाख रुपैयाँ जित्नका लागि प्रतिस्पर्धा हुनेछ। विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउने भएकाले बिहीबारको एउटा खेलको मूल्य १० लाख रुपैयाँ रहनेछ।

घरेलु क्रिकेटमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको दबदबामा पूर्णविराम लगाउँदै फाइनल पुगेका दुवै टोलीको एक मात्र लक्ष्य बिहीबार उपाधि जित्नु हुनेछ। फाइनलअघि बुधबार दुवै टोलीका कप्तानले जितको आशा व्यक्त गरे। पुलिसका मञ्जित श्रेष्ठ तथा आर्मीका विनोद भण्डारीले पछिल्लो समय आआफ्नो टोलीले राम्रो क्रिकेट खेलिरहेको बताउँदै जितको लागि मैदान उत्रिने बताए।

प्रकाशित: २५ जेष्ठ २०७४ ०३:३१ बिहीबार

लाखमा आर्मी पुलिसको दाबी