राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले छैटौं मास्टर्स मिट तथा दोस्रो राष्ट्रिय रेफ्री सेमिनारको सोमबार उद्घाटन गरेका छन्। नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो।
मास्टर्स मिटमा विभिन्न पाँच प्रदेशका दुई सय ५० जनाको सहभागिता रहेको नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन्। पहिलोदेखि पाँचौं डानसम्मका मास्टर्स मिटमा सहभागी छन्। रेफ्री सेमिनारमा पनि पाँच प्रदेशका ५० जना सहभागी छन्। कार्यक्रम मंगलबार सम्पन्न हुनेछ।
बुधबार वादोरियो कराते संघको साधारणसभा तथा निर्वाचन पनि काठमाडौंमा हुँदै छ। साधारणसभाका लागि प्रतिनिधिहरू काठमाडौं आउने क्रम जारी रहेको प्रमुख प्रशिक्षक केसीले जानकारी गराए।
प्रकाशित: २६ असार २०८० ०२:०१ मंगलबार