खेल

एपिएफको रोमाञ्चक जित

काठमाडौं- कप्तान सिद्धार्थकुमार बलले खेलको अन्त्यतिर गोल गरेपछि एपिएफले ललित स्मृति यु–१८ फुटबलमा सरस्वती क्लबविरुद्ध ३–२ को रोमाञ्चक जित हासिल गरेको छ।

सोमबार सातदोबाटोस्थित एन्फाको कृत्रिम घाँसे मैदानमा सरस्वतीले सुरुआतमा अग्रता लिएको थियो।

खेल २–२ को बराबरीमा सकिन केही मिनेट मात्र बाँकी थियो। तर इन्जुरी समयको पहिलो मिनेटमा डिबक्स लाइननजिकबाट सिद्धार्थले गोल गर्दै एपिएफलाई सफलता दिलाए। सरस्वतीका गोलकिपर विष्णुकुमार केसी अगाडि बढेको मौका पारेर सिद्धार्थले पोस्टमा प्रहार गरेका थिए।

सिद्धार्थले निर्णायक गोल गर्नुअघि भने एपिएफका लागि अजित वाइबा नायक बनेका थिए।

अजितले दुई गोल गर्दै एपिएफलाई खेलमा फर्काएका थिए। सरस्वतीका ओमप्रकाश सिंहले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर एपिएफका अजितले ६३औं मिनेटमा गोल गरेर खेल बराबरी गरे। अजितले ७६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले खेलमा २–१ को अग्रता लियो। तर सुरस्वतीले ८५औं मिनेटमा स्वरूप थापा मगरको गोलबाट खेलमा फर्किएको थियो।

एपिएफका प्रशिक्षक नीरज श्रेष्ठले एक गोल गरेपछि सरस्वतीले रक्षात्मक रूपमा खेल्दा फाइदा पुगेको बताए। 'एक गोल गरेपछि सरस्वतीले एउटा स्ट्राइकरमा खेलेको थियो। त्यसले हामीलाई उनीहरुमाथि दबाब बढाउन सहयोग गरिरहेको थियो। हाम्रो फिटनेस र स्टामिन राम्रो छ। त्यसले पनि खेल जित्न सहयोग गर्‍यो,' श्रेष्ठले भने, 'हामीले प्रतियोगिताका लागि राम्ररी अभ्यास गर्न पाएको छौं। राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि हाम्रो मैदान उपलब्ध गराइएको छ। ट्रयाकमा अभ्यास गरेर प्रतियोगिता खेल्दै छौं। तर पनि खेलाडीले राम्रो सुरुआत गरे।'

प्रतियोगिता खेलिरहेका सबै खेलाडी विभागकै भएको प्रशिक्षक श्रेष्ठले बताए। ५० जनाबाट २० खेलाडी प्रतियोगिताका लागि छानेको श्रेष्ठले जानकारी गराए।

सोमबार एपिएफका लागि दुई गोल गरेका वाइबालाई प्रशिक्षक श्रेष्ठले दोस्रो रोजाइका रूपमा मैदानमा पठाएका थिए। ज्वरो आएर वाइबाले तीन दिन मात्र अभ्यास गरेकाले दोस्रो रोजाइको रूपमा मैदानमा पठाएको उनले बताए। एपिएफले सुरुआतबाट सरस्वतीविरुद्ध आक्रामक भएर खेल्ने कोसिस गरेको थियो। तर सरस्वतीका ओम प्रकाश भने पहिलो हाफमा गोल गर्न सफल भए। ४७औं मिनेटमा सरस्वतीका देवराज वलीले एपिएफको पोस्टनजिक उत्कृष्ट क्रस उपलब्ध गराएका थिए। त्यो क्रसलाई सरस्वतीका प्रकाश सिंहले हेड गरेर गोल गर्ने प्रयास पनि गरे। तर प्रकाशको हेड सुस्त थियो। ५४औं मिनेटमा एपिएफका अजितको सशक्त प्रहारलाई सरस्वतीका गोलकिपर विष्णुकुमार केसीले रोक्न सफल भए। प्रदीप रानाको लामो पास नियन्त्रणमा लिएर अजितले डिबक्स नजिकैबाट पोस्टमा सशक्त प्रहार गरेका थिए। उनको प्रहारलाई केसीले पन्च गरेर खतरालाई टारे। अजितको पहिलो  प्रहारलाई असफल बनाए पनि गोलकिपर केसीले ६३औं मिनेटमा गरेको प्रहारलाई रोक्न सकेनन्। सरस्वतीका अन्तिम रक्षक प्रदीप बस्नेतलाई छक्याएर अजितले गोल गरेका थिए।

६३औं मिनेटमा सरस्वतीका ओमप्रकाश सिंहले वान भर्सेस वानमा पाएको मौकालाई सदुपयोग गरेनन्। ओमको प्रहार सोझौ एपिएफका गोलकिपर निश्चल दुलाललाई लागेर फर्कियो। ६९औं मिनेटमा ओमप्रकाशकै प्रहार बारमा लागेर फर्कियो। रिबाउन्डमा आएको बललाई नियन्त्रणमा लिँदै पुनः ओमले एपिएफका रक्षक सुरेश बुढामगरलाई पन्छाउँदै गरेको प्रहार गोल भएको थियो। तर सुरेशले गोल हान्नुअघि नै विपक्षी रक्षकलाई फल गरेको भन्दै रेफ्री प्रकाशनारायण श्रेष्ठले फल दिइसकेका थिए। 

सरस्वती व्यवस्थापक कृष्णगोपाल श्रेष्ठले जितेको खेलमा हारको सामना गर्नुपरेको बताए। उनले भने, 'हामीले सुरुआतमा गोल गर्ने बित्तिकै रक्षात्मक खेल्यौं। त्यो आवश्यक थिएन। एक गोलको अग्रता सुरक्षित होइन। त्यो कुनै पनि बेला गुम्न सक्छ। पहिलो खेल हार्दा अप्ठयारो भएको छ। अबका खेलमा जित्नैपर्ने दबाब बढेको छ।'

यसै गरी सोमबार भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले लक्ष्मी हुन्डाइ मनाङ मर्स्याङ्दी क्लबलाई ३–० ले पराजित गरेको छ। फ्रेन्ड्सले पछिल्लो तीन वर्षयता विविध कारणले आधिकारिक प्रतियोगितामा भाग लिएको थिएन। तर तीन वर्षपछिको सुरुआत भने फ्रेन्ड्सले दमदार गरेको छ। फ्रेन्ड्सको जितमा रमेश बर्ताैलाले ४७औं र ८२औ मिनेटमा गोल गरे। धीरज श्रेष्ठले ८५औं मिनेटमा गोल गर्दै नेपाली फुटबलको सफल टोली मनाङविरुद्ध जित हासिल गर्न सहयोग गरे।

प्रकाशित: १६ जेष्ठ २०७४ ०४:३५ मंगलबार

एपिएफको रोमाञ्चक जित