खेल

लालसेर राई स्मृति मेयरकपको उपाधि गाईघाटलाई

सदरमुकाम गाईघाटमा आयोजित ‘लालशेर राई स्मृति २३ औँ मेयर कप फुटबल प्रतियोगिता २०८०’ को उपाधि वडा नं. ११ गाईघाटले चुमेको छ।

शनिबार सम्पन्न फाइनलमा गाईघाटले २ नं. वडा खैजनपुरलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

गाईघाटका लागि सुनिल खड्काले ह्याट्रिक गरे भने बाँकी २ गोल सरोज राउत र दिवश श्रेष्ठले गरे। खेल सुरु भएको छैटौँ मिनटमै पहिलो गोल गरेर टिमलाई अगाडि बढाएका खड्काले १८ औँ मिनटमा दोस्रो गोल थपेका थिए।

२२ औँ मिनटमा गाईघाटकै अर्का खेलाडी सरोजले तेस्रो गोल गरेर टिमलाई लगातार अघि बढाए। मध्यान्तरपछि ५८ औँ मिनटमा दिवशले चौथो गोल गरे भने खेलको अन्तिम ७० औँ मिनटमा खड्काले नै तेस्रो गोल गरेर ह्याट्रिक गरे।

खैजनपुरको तर्पmबाट देवराज चौधरीले ३८ औँ मिनटमा १ गोल गरे पनि थप गोल गर्न टिम असफल रह्यो। फाइनल खेलको म्यान अफ द म्याचको उपाधि २ न. खैजनपुरका देवराज चौधरी घोषित भए। उनलाई पुरस्कार स्वरूप १ हजार नगद र प्रमाणपत्र प्रदान गरियो। 

गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा गत ९ गते सुरु भएको प्रतियोगितामा विजेता गाईघाटले ५० हजार नगदका साथ ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता खैजनपुरलाई ३० हजार नगद र प्रमाणपत्र प्रदान गरियो।

रङ्गशालामै आयोजित समापन समारोहमा त्रियुगा नगरप्रमुख वसन्त बस्नेतले विजेता टिम र खेलाडीहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरे। प्रतियोगितामा विधागत विजेता पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीको उपाधि गाईघाटका आयुव राईले पाए।

बेस्ट किपरको उपाधि ११ कै सन्दीप राई भए भने ११ कै प्रमिल श्रेष्ठ बेस्ट डिफेन्स भए। हाई स्कोरको उपाधि ११ कै सुनिल खड्काले पाउँदा २ नं. का देवराज चौधरीले बेस्ट डिफेन्सको उपाधि पाए। गाईघाटकै अरुण राई बेस्ट कोचको उपाधिबाट पुरस्कृत भए। विधागत खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार र अन्य विधागत उपाधि विजेता खेलाडीहरुलाई जनही २ हजारका दरले पुरस्कार प्रदान गरियो।

त्रियुगाका संस्थापक नगरप्रमुख स्वर्गीय लालशेर राईको २३ औँ स्मृति दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो। त्रियुगा नगर खेलकुद विकास समितिको संयोजन, नगरपालिकाको प्रायोजन र एन्फा उदयपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा त्रियुगाका १६ मध्ये १४ वटा वडाका खेलाडी समूहको सहभागिता रहेको आयोजक एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए।

प्रकाशित: १६ असार २०८० १६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App