खेल

पाकिस्तानको बलियो पकड

डोमिनिका – बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तान वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्टको जितनजिक पुगेको छ । जितका लागि ३ सय ४ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले शनिबारको सुरुआतमै विकेट गुमाएको थियो । दिनभरिमा १४ विकेट झरेको चौथो दिन पाकिस्तानले खेलमा नियन्त्रण लिएको छ । भ्रमणकारी टोली पाकिस्तानले बिहानपख वेस्ट इन्डिजलाई छिटो गरी २ सय ४७ रनमा अलआउट गर्दै पहिलो इनिङमा १ सय २९ रनको अग्रता लिएको थियो । अग्रपंक्तिका ब्याट्सम्यानले गतिलो स्कोर गर्न नसकेपछि पाकिस्तानले एक समय ७ विकेटको नोक्सानीमा ९० रन जोडेको थियो । ३ सय ३ रनले अग्रता लिइरहेको पाकिस्तानले चौथो दिन ८ विकेटको नोक्सानीमा १ सय ७४ रन जोडेको बेला इनिङ समाप्तिको घोषणा गर्याे ।
 
टेस्ट क्रिकेटमा दोस्रो पटक वेस्ट इन्डिजका ओपनर किरन पावेलले स्पिनर यासिर साहलाई विकेट सुम्पिए । पहिलो विकेट गुमाउँदा घरेलु टोली ७–१ को स्थितिमा छ । जितका लागि २ सय ९७ रन आवश्यक छ । 

वेस्ट इन्डिजविरुद्धको खेलबाट पाकिस्तानी कप्तान मिसबाह उल हक र युनिस खानले टेस्ट क्रिकेटबाट संन्यास लिँदै छन् । ऐतिहासिक टेस्टमा सफलता पाए पनि संन्यास खेलमा भने दुवैले करियरमा पाएको सफलताजस्तै खेल देखाउन सकेनन् । चियाअघि दुवैलाई पाकिस्तानका स्पिनर देवेन्द्र विश्वले आउट गरे । मिसबाह २ र युनिस ३५ रन जोडेर आउट भए । बाउन्ड्रीबाट बाहिरिँदा दुवै ब्याट्सम्यानले पाकिस्तान र वेस्ट इन्डिजका खेलाडीले ताली पिट्दै बिदाइ गरे । मिसबाह पाकिस्तानका लागि महान कप्तान र उनका सहकर्मी युनिस सर्वाधिक रनकर्ता हुन् । तर आइतबार भने उनीहरूको योगदान गतिलो हुन सकेन । 

वेस्ट इन्डिजका अल्जारी जोसेफले ३ विकेट लिँदै पाकिस्तानलाई दबाब दिने प्रयास गरेका थिए । पाकिस्तानका सर्फराज अहमद ४, असाद सफिक १३ र मोहमद अमिर २७ रनमा आउट भए । तर बलर अमिर र यासिर साहले ६१ रनको साझेदारी गर्दै टोलीको स्कोर बढाएका थिए । इनिङ समाप्तिको घोषणा गर्दा साह ३८ र हसन अली १५ रनमा अविजित थिए । 

वेस्ट इन्डिजले दिनको सुरुआतमा सहज रूपमा गर्ने प्रयास गरेको थियो । तर सुरुआतमै विकेट गुमाएपछि वेस्ट इन्डिज दबाबमा परेको हो । २१८–५ को स्थितिबाट चौथो दिनको सुरुआत गरेको वेस्ट इन्डिजले १५ ओभरमा ५ विकेट गुमाउँदा २९ रन मात्र जोडेको थियो । कुहिनाको चोटका कारण शुक्रबार रिटायर्डहर्ट भएका वेस्ट इन्डिजका ब्याट्सम्यान रोस्टन चेजले ६९ रन बताए । 

प्रकाशित: १ जेष्ठ २०७४ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App