खेल

जेससको काँधमा सिटीको जिम्मेवारी

म्यानचेस्टर- म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससले ठीक समयमा पुनरागमन गरेका छन्। शनिबार क्रिस्टल प्यालेसलाई हराउँदै शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यसाथ सिटीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

फेब्रअरीमा बर्नामाउथविरुद्ध खुट्टा भाँचिएपछि मैदानबाहिर रहेका २० बर्षे बाजि्रलका फरवार्डले पुनरागमनपछि २ खेल खेलिसकेका छन्। डर्बी प्रतिस्पर्धामा म्यानचेस्टर युनाइटेडसँग गोलरहित बराबरी खेल्दा पुनरागमन गरेका जेससले मिडल्ब्रोविरुद्ध २–२ को बराबरी खेल्दा बराबरी गोल गर्दै सिटीलाई १ अंक दिलाएका थिए।

अर्जेन्टिनाका सर्जियो अग्गुएरो जाँघको चोटबाट गुजि्रएकाले शनिबार सिटीको आक्रमणको जिम्मा जेससको काँधमा आउने निश्चितजस्तै छ। सिटीले जिते शीर्ष चारमा रहने सम्भावना बलियो हुनेछ। लिगमा चार खेल बाँकी रहँदा पाँचौं स्थानको युनाइटेडभन्दा १ अंकले मात्र माथि छ। युनाइटेडले आइतबार आर्सनलविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

एफ कप सेमिफाइनलमा आर्सनलसँगको पराजय तथा लिगका पछिल्लो दुई खेलमा बराबरी खेलेपछि प्रशिक्षक पेप ग्वार्डिवला जारी सिजन दबाबमा परेका छन्। सिटीले लिगको पछिल्लो ८ मध्ये २ खेलमा मात्र विजय हासिल गरेको छ।

वेम्बलीमा आर्सनलसँग पराजित हुँदा घाइते भएका डेविड सिल्भा घुँडाको चोटमुक्त भएर फर्किएका छन्। बिहीबारको अभ्यासमा पूरा समय बिताएका स्पेनका मिडफिल्डर सिटीमा सबैभन्दा एकनासको प्रदर्शन गर्ने खेलाडी हुन्। इङ्लिस प्रिमियर लिगमा ग्वार्डिओलाका लागि पहिलो वर्ष निकै कठिन रह्यो। उनको प्रशिक्षक जीवनमा पहिलो पटक उनी उपाधिविहीन बन्ने भएका छन्। तर, कप्तान भिसेन्ट कोम्पनीले क्लब सही दिशामा गइरहेको विश्वास व्यक्त गरे।

‘सिजनलाई सुखद अन्त्य गर्दै हामीले अर्को सिजनका लागि राम्रो तयारी गर्नुपर्छ। किनकि हामीसँग ४ प्रतियोगिता हुनेछन्,’ कोम्पनीले भने, ‘अहिलेजस्तै कहिलेकाहीं अविश्वसनीय सिजन बित्ने गर्छ। हामी यस्तो अवस्थामा छौं जहाँ हामीले अबका सबै खेल जित्नुपर्नेछ।’

साम एलार्डेसको क्रिस्टल प्यालेस गत साता घरेलु मैदानमा बर्नलीसँग २–० ले पराजित भएपछि ३८ अंकका साथ १६औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रमा रहेको क्रिस्टल प्यालेसभन्दा ६ अंकले मात्र अघि हो।

प्रशिक्षक एलार्डेस भने आफ्नो टोली रेलिगेसनबाट जोगिनेमा ढुक्क छन्। शनिबार पराजित भए पनि क्रिस्टल प्यालेसलाई १ खेल जित्नै पर्ने हुन्छ। चेल्सी र लिभरपुलमा सफलता हासिल गरेको तथा घरेलु मैदानमा आर्सनललाई स्तब्ध बनाएको क्रिस्टल प्यालेस शनिबार इतिहाद रंगशाला भ्रमणमा हुनेछ। अर्को साता भने हलसिटीलाई घरमा निम्त्याउनेछ।

‘बर्नलीविरुद्ध जस्तो गल्ती गर्न हामीलाई छुट छैन र हामी यो भ्रमणमा उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ प्रशिक्षक एलार्डेसले भने, ‘अर्को हप्ता पनि हाम्रो तर्फबाट उत्कृष्ट प्रदर्शन दिने प्रयास गर्नेछौं। सम्भवत हलका लागि यहाँ खेल्न दबाब हुनेछ। ’

प्रकाशित: २३ वैशाख २०७४ ०४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App