खेल

पोखरामा ड्रागन बोट रेसको तयारी

दक्षिण एशियामै पहिलोपटक पोखरामा शुक्रबार र शनिबार ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोटरेस फेस्टिभल’ हुँदैछ। फेवातालमा हुने यो बोट रेसले नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि गर्ने अपेक्षा पर्यटन क्षेत्रको छ। फेस्टिभलको तयारी स्वरुप चीनबाट डुंगा पोखरा ल्याईसकिएको र अहिले ती डुंगालाई फेवातालमा परीक्षण गरिरहेको आयोजकले बताएको छ।  

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल गर्न थालिएको हो। उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद (पिटिसी) र चाइना ओभरसीज एशोसिएसन सहआयोजक रहेका छन। फेस्टिभलमा नेपाल र चीनका गरि १२० जना प्रतियोगि सहभागि हुनेछन्। दुइसय र पाँचसय मिटरमा गरि दुई भागमा आठवटा बोटमार्फट रेस हुनेछ। प्रतियोगितामा विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने चिनियाँ पदाधिकारीले बताएका छन। प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी बुधबार पोखरा आएका छन्।

यही फेस्टिभलको क्रममा दुवै देशका सांस्कृतिक प्रस्तुती र खानाको प्रदर्शनी पनि हुनेछ। चीनले यसअघि यसप्रकारको बोट फेस्टिभल ५० भन्दा बढी देशहरुमा आयोजना गरिसकेको छ। यो प्रतियोगितालाई एशियन गेममा पनि सहभागि गराइएको छ। पोखरामा यो गतिविधिलाई हरेक वर्ष आयोजना गर्नेगरि यो पटक कार्यक्रम गर्न थालिएको आयोजकको भनाई छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले संस्कार र सद्भाव साट्नका लागि पनि यो महोत्सव महत्वपूर्ण भएको बताए। ‘पोखराबारे चिनियाँ पर्यटनमाझ प्रचार प्रसार गर्न यो महोत्सव काफि हुनेछ। यसले आगामि दिनमा थप चिनियाँ पाहुना पोखरा भिœयाउने अवसर दिलाउनेछ,’ उनले भने।  

कोभिड संक्रमण सुरु भएपछि आफ्ना नागरिकलाई घुमघाममा रोक लगाउँदै आएको चीनले गत मार्च १५ देखि लागु हुनेगरि चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई नेपाल घुम्न अनुमति दिएको थियो।  त्यसअघि चीनले आफ्ना नागरिकलाई घुम्न जान पाउने २० मुलुकभित्र नेपाललाई समेटेको थिएन। तर, दोश्रोपटक सूँची प्रकाशित गर्दै नेपाललाई पनि लिष्टमा अटाएको थियो। त्यसपछि बल्ल चिनियाँ पर्यटकको नेपाल आगमनमा केही सुधार देखिँदै गएको व्यावसायीले बताएका छन्।  

गत मे महिनामा मात्र नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या ४ हजार ६ सय ६७ रहेको छ। यो आगमन आगामि दिनमा बढ्दै जाने अपेक्षा पर्यटन व्यावसायीको छ। नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने मुलुकको तेश्रो नम्बरमा चीन रहेको छ। चिनियाँ पाहुना लक्षित गरेर पोखरामा विभिन्न पूर्वाधार पनि व्यावसायीले बनाएका छन्।

प्रकाशित: ६ असार २०८० ०८:५० बुधबार

ड्रागन बोट रेस पोखरा