खेल

चितवन च्याम्पियनसिप फुटबल असार ५ गतेदेखि

एभरेष्ट क्लब भरतपुरको आयोजनामा हुने चितवन च्याम्पियनसिप फुटबलको छैठौँ संस्करण असार ५ गतेदेखि हुने भएको छ।

जुनियर प्रहरी अधिकृत शिक्षालयको मैदानमा हुने प्रतियोगिता असार १६ गतेसम्म चल्नेछ। प्रतियोगितामा चितवनका १० र दुई बाहिरी जिल्लाका गरि कुल १२ टोली सहभागी हुने आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा अभिषेक चर्च रहजर, नारायणी मोटर्स युनिक एफसी, सेन्ट्रल क्लब रामपुर फुटबल क्लब रड्स, हर्दी युवा समाज भण्डारा, जुनियर प्रहरी अधिकृत शिक्षालय र गैंडाकोट फुटबल क्लब रहेका छन्।

यस्तै समूह ‘बी’ मा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी), स्टार स्पोर्ट्स क्लब बरुवा माडी, सूर्यपुर फुटबल क्लब कालिका, त्रिवेणी फुटबल क्लब मुग्लिन, आयोजक एभरेष्ट फुटबल क्लब र भतेरी युवा क्लब (जु एफसी) जुगेडी रहेका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रहजर र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन्। प्रतियोगिताको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्ने आयोजक एभरेष्ट क्लबका अध्यक्ष प्रेमबहादुर गुरुङ (गोपाल) ले जानकारी दिए।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा सेमिफाइनल अघि दर्शकका लागि ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ। २० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अपेक्षा रहेको प्रवर्द्धक संस्था चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए।

प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको कार्कीले बताए। प्रतियोगिता सम्पन्न गर्न १९ लाख ७० हजार खर्च हुने अनुमान छ।

प्रकाशित: ३ असार २०८० १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App