खेल

पुलिसलाई पाथीभरा भलिबल

काठमाडौं- नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।शनिबार पुलिसले त्रिभुवन आर्मी क्लबलाई १९–२५, २५–१५, २५–२०, २२–२५, १५–११ ले हरायो।

आर्मीले भानु जनमाविको कोर्टमा पहिलो सेट उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पक्षमा पारेको थियो। तर त्यो लयलाई आर्मीले दोस्रो र तेस्रो सेटमा जारी राख्न सकेन। राष्ट्रिय टोलीको समेत स्पाइकर रहेका कुलबहादुर थापा र चन्द्रबहादुर कुँवरले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले खेलमा पुनरागमन गरेको थियो।

चौथो सेटमा आर्मीले २०–२२ को अवस्थालाई उल्टाउँदै लगातार ५ अंक जोडेको थियो। राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा पुलिसले ४ खेलबाट १२ अंक जोड्दै उपाधिको हकदार बनेको हो। आर्मीले ४ खेलबाट ९ अंक बटुल्यो।

शनिबार एपिएफले पूर्वाञ्चललाई २५–१३, २५–१८, २५–८ ले हराउँदै तेस्रो स्थान हासिल गर्‍यो। एपिएफले ४ खेलबाट ६ अंक जोड्यो। पूर्वाञ्चलले भने ४ खेलबाट २ अंक जोड्न सफल भयो। मध्यमाञ्चल ४ खेलबाट १ अंकमा सीमित भयो। प्रतियोगिताको विजेता पुलिसले ३ लाख ३० हजार र उपविजेता आर्मीले १ लाख ६५ हजार पाए। तेस्रो र चौथो टोलीले समान ३५ हजार पाए।

प्रतियोगितामा पुलिसका स्पाइकर कुलबहादुर थापा सर्वोत्कृष्ट खेलाडी भए। उनले नगद १० हजार प्राप्त गरे।  पुलिसका चन्दबवहादुर उत्कृष्ट स्पाइकर, पुलिसका कप्तान इम रानामगर उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकरमा आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्स आर्मीका ईश्वर थापामगर र उत्कृष्ट सर्भरमा आर्मीका हरिहजुर थापा पुरस्कृत भए। उत्कृष्ट सबैले जनही ५ हजार पाए।

प्रतियोगिताका विजयी खेलाडीलाई सभासद् भुपेन्द्र थेबेलगायतले पुरस्कृत गरेका थिए। प्र्रतियोगितामा तीन विभागीय टोलीसहित मध्यमाञ्चल र पूर्वाञ्चलले भाग लिएका थिए।

प्रकाशित: ८ फाल्गुन २०७३ ०३:४६ आइतबार

पुलिसलाई पाथीभरा भलिबल