खेल

मैदान उद्घाटनमा मैत्रीपूर्ण खेल

काठमाडौं- सर्लाहीको बुद्धि विकास खेलमैदानको उद्घाटनमा संकटा र एपिएफ क्लबले  मैत्रीपूर्ण खेल खेल्ने भएका छन्। मैत्रीपूर्ण खेल फागुन ७ गते हुनेछ। सर्लाही बरहथवा नगपालिका–११ हीरापुरमा रहेको बुद्धि विकास मैदान १७ बिघा क्षेत्रफलमा रहेको सर्लाहीका सभासद् एवं सिएमजी क्लबका प्रबन्ध निर्देशक नरेन्द्र साहले बताए।

सर्लाही जिल्ला खेलकुद विकास समितिको समन्वयमा फुटबल मैदान बनेको साहले बताए। साहले नयाँ खेलाडी उत्पादन र सामाजिक सद्भाव बलियो बनाउन फुटबलले सहयोग गर्ने बताए। साहले भने, 'खेल स्वास्थ्यका लागि आवश्यक छ, शान्ति राष्ट्रका लागि हो। भित्री मधेसमा संघीयताले मतभिन्नता बढाएको छ। फुटबलले  यस्ता मतभिन्नतालाई कम गर्नेछ।'

भविष्यमा राष्ट्रिय स्तरको प्रतियोगिता र काठमाडौंको ए डिभिजन क्लबलाई प्रशिक्षण गर्नका लागि मैदान उपयुक्त हुने साहले बताए। उनले थपे, 'हामीले नेपाली फुटबलको राष्ट्रिय स्तरको प्रतियोगिता र प्रशिक्षण गर्न मिल्ने लक्ष्यसहित  मैदान तयार पारिरहेका छौं। खेलमैदान निर्माण कार्य अझै पूरा भएको छैन।'

खेलकुदले मधेसको सभ्यता र समाज विकासमा सहयोग गर्ने साहले धारण राखे। उनले भने, 'मधेसमा धेरै राम्रा कुराहरू छन्। हामी फुटबलको माध्यमबाट हाम्रो कला, संस्कृति, सभ्यतालाई देखाउन चाहन्छौं। समाजमा भएका असहमतिलाई हटाउन चाहन्छौं। सर्लाही फुटबलका लागि उर्बर भूमि हो भनेर चिनाउने प्रयास गरिरहेका छौं।'

मैत्रीपूर्ण फुटबलमा एपिएफ र संकटाको पहिलो रोजाइको टिमले  खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) सिईओ एवम् संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए। तुलाधरले बुद्धि विकास मैदानले सर्लाहीबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने बताए। तुलाधरले भने, 'सर्लाहीले नेपाली फुटबलमा प्रतिभावान् खेलाडी दिएको छ। जुमानु राई, आदित्य चौधरीजस्ता खेलाडीले नेपाली फुटबलको विकासमा योगदान दिइरहेका छन्। मैदान निर्माणपश्चात् थप नयाँ खेलाडी उत्पादनमा सहयोग मिल्नेछ।'

सर्लाही सदरमुकामबाट २० किलोमिटर टाढा रहेको बुद्धिविकास खेलमैदान सरकारी जग्गामा बन्न लागेको साहले बताए।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App