खेल

‘हिमालयन एक्सट्रिम ट्रायथोलन’ को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई

निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन्। महिला तर्फको उपाधि अमेरिकाकी तारा मिराण्डा पार्सोन्सले जितेकी छन्।

अन्तराष्ट्रिय ट्रायथोलनका हब पोखरामा शनिबार र आईतबार हिमालयन एक्सट्रिम ट्रायथोलन प्रतिस्पर्धा भएको थियो। शनिबार विहान फेवातालमा पौडीबाट शुरुवात भएको ट्रायथोलन आईतबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित काँडेमा समापन भएको थियो। फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडी प्रतिस्पर्धा गरिएको थियो।

पौडीपछि सहभागिले १७५ किलोमिटर साईक्लिङ गरे। साईक्लिङपछि ४३ किलोमिटर दौड पुरा गरेका थिए। पौडी—साईक्लिङ—दौडलाई चेक रिपब्लिकका पिटरले १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पुरा गर्दै उपाधि जितेका हुन्। पुरुषतर्फ नै इटालीका जिओभानी बोर्टोलासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी दोश्रो हुदाँ रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेण्ड समय लगाउँदै तेश्रो भएका थिए।  

महिलातर्फको  उपाधि बिजेता मिराण्डाले निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेण्ड समय लगाउँदै च्याम्पियन बनिन्। फ्रान्सकी बेनेडिक्ट पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेण्डमा ट्रायथोलन पुरा गर्दै दोस्रो बन्दा तथा चेक रिपब्लिककी भेरोनिका मर्चेन्टले  २४ घण्टा  २८ मिनेट २५ सेकेण्ड समय लगाउँदै तेश्रोस्थानमा रहिन्। 

प्रतियोगितामा २२ देशका ३६ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिए। उनका अनुसार २७ जनाले दौड पुरा गरेका थिए। सहभागि पाँच महिला मध्ये ३ जनाले दौड पुरा गरे। प्रतियोगिहरुले फेवातालमा पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि १७५ किमी साइकल दौड सुरु गरेका थिए। पोखराको लेकसाईडबाट सुरु भएको साइक्लिङ सराङकोट, लुम्ले, नयाँपुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँपुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा आएर समापन भएको थियो।

साईक्लिङपछि ४३ किमी लामो दौड सुरु भएको थियो।  काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (४३०० मिटर) छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा आएर टुंगिएको योन्जनले बताए।  

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। सदस्य सचिव घिसिङले यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको हब सहयोगी भूमिका खेल्ने स्पष्ट पारे। नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले यो प्रतियोगिताले नेपालसँगै पोखरालाई सहासिक खेलकुदका लागि गन्तव्य  बनाउन महत्वपूर्ण टेवा पुर्याउने दावी गरे।  

प्रकाशित: २४ वैशाख २०८० १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App