काठमाडौं– नेपालमा पहिलो पटक क्लबहरूले अक्सन (बढाबढ) बाट खेलाडी लिइएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)लाई रुस्लान क्रिकेटले एसोसिएसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ।
डिपिएल चैत ५ गतेबाट सुदूरपश्चिमको धनगढी सहरमा हुनेछ। प्रतियोगितामा ६ क्लबले प्रतिस्पर्धा गर्नेछन् । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र रुस्लान क्रिकेटका कानुन विभाग प्रमुख गुरू अधिकारीले बिहीबार सम्झैतापत्रमा हस्ताक्षर गरे। तथापि सम्झैता रकम भने खुलाइएको छैन ।
डिभोटी एसपिए कप र सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगलाई मर्ज गरेर धनगढी प्रिमियर लिग बनाइएको हो। प्रतियोगितामा सिवाइसी अत्तरिया, विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोनिक र टिम चौराहा धनगढीले प्रतिस्पर्धा गर्नेछन्।
हस्ताक्षरपछि एकेडेमीका अध्यक्ष सुवास शाहीले आगामी संम्करणमा पनि रुस्लानको साथ पाउने विश्वास व्यक्त गरे । त्यस्तै, रुस्लानका कानुन विभाग अधिकारीले नेपाली खेलकुद विकासमा रुस्लानले महत्वपूर्ण सहयोग गरिरहेको भन्दै यस प्रतियोगितालाई पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ५ फाल्गुन २०७३ १४:२९ बिहीबार