हिमालयन एक्स्ट्राई नेपालको आयोजनामा हरेक वर्ष आयोजना हुने ‘हिमालयन एक्स्ट्राई एक्सट्रिम ट्रायथलन’ को दोस्रो संस्करण वैशाख २३ गते शनिबार पोखरामा हुने भएको छ।
प्रतियोगितामा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेदरल्यान्ड, ग्रिस, रूस, चेक रिपब्लिक, इस्टोनिया, बंगलादेश, भारत, इजरायल, फिनल्यान्डलगायतका २२ मुलुकका ३६ खेलाडीले सहभागिता जनाउन लागेको हिमालयन एक्स्ट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिए। पौडी, साइक्लिङ र उकाली ओराली दौडिनुपर्ने भएकोले निकै चुनौतीपूर्ण मानिने उक्त प्रतियोगितामा ३६ खेलाडी भए पनि उनीहरूको सहयोगी टोलीसमेत गरी ६५ जनाको सहभागिता हुनेछ।
नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता शनिबार फेवातालमा पौडीबाट सुरु हुनेछ। बिहान साढे ४ बजे सहभागीले ३.८ किमि पौडीको प्रतिस्पर्धा गर्नेछन्। त्यसलगत्तै १ सय ७५ किमि साइकल दौड सुरु हुनेछ। पोखरा लेकसाइडबाट सुरु हुने साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुनः फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुनेछ।
त्यस लगतै ४३ किमि लामो दौड सुरु हुनेछ। उक्त दौड काँडे हुँदै ४ हजार मिटरमा रहेको मर्दी हिमाल भ्यु प्वाइन्टलाई छुँदै पुनः फर्किएर माछापुच्छ«े गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुने रेस डाइरेक्टर योन्जनले बताए। प्रतियोगिता पूरा गर्न करिब १८ घण्टा लाग्न सक्ने आयोजकले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड खर्च लाग्ने अनुमान गरिएको छ। पोखरामा खेल पर्यटनलाई सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रेस डाइरेक्टर योन्जनले बताए। उनले भने, ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि क्वालिटीयुक्त पर्यटकलाई बढीभन्दा बढी समय बताउन यस्ता प्रतियोगिताले मद्दत पुग्नेछ। हाम्रो इभेन्ट खेल्न आउने खेलाडीहरू दुई हप्ता यहाँ बिताउने गर्छन्।’ थुप्रै खेलाडी पहिलो पटक एसियामा आएर दौडिन लागेको पनि योन्जनले बताए।
प्रकाशित: २२ वैशाख २०८० ०१:१६ शुक्रबार