खेल

प्रेमको विस्फोटक ब्याटिङ

काठमाडौं- प्रेम तामाङको अलराउन्ड प्रदर्शनप्रेरित सुरक्षण क्रिकेट क्लबले आइतबार खुकुरी च्यालेन्जर कप क्रिकेटमा एसएमसी बानेश्वरलाई १ सय ४१ रनले पराजित गरेको छ। प्रेमले ५३ बलमा २ छक्का र १० चौका प्रहार गर्दै ८५ रन बनाएका थिए भने ४ ओभरमा १४ रन दिएर ४ विकेट लिएका थिए। टस जितेर ब्याटिङ गरेको सुरक्षणले प्रेमको आक्रामक अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो। प्रेमबाहेक योगेन्द्र कार्कीले २७, अभिनाश कर्णले २५, नविन थापाले २३ र रोशन बुडालले अविजित २२ रन बनाएका थिए।

२ सय १५ रनको लक्ष्य पछ्याएको एसएमसीले १७.४ ओभरमा सबै विकेट गुमाएर ७३ रनमात्र जोड्न सक्यो। एसएमसीलाई चाँडै अलआउट गर्ने क्रममा प्रेमले ४ तथा चित्र विष्ट र विजय धितालले २/२ विकेट लिए। जितसँगै सुरक्षण ४ अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। एसएमसीले भने अंक जोड्न सकेको छैन। 

आइतबारै समूह ‘डी’मा टिपटप ११ ले चन्द ब्रदर्सलाई ५० रनले पराजित गरेको छ। भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको टिपटपले ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। टिपटपका सोनु तामाङले २१ बलमा ४ छक्का र ३ चौकासहित ४६ रन बनाए। चन्द ब्रदर्सका अजय साय्मीले ३ र आशिष पोख्रेलले २ विकेट लिए।

१ सय ७३ रनको लक्ष्य पछ्याएको चन्द्र ब्रदर्सले ८ विकेट गुमाएर १ सय २२ रनमात्र जोड्न सक्यो। चन्द ब्रदर्सका अजयले ३७ रन बनाए। टिपटपका इशान पाण्डेले ३ विकेट लिए भने अभिनाष बस्यालले २ विकेट लिए।

प्रकाशित: १० माघ २०७३ ०३:४९ सोमबार

प्रेमको विस्फोटक ब्याटिङ