खेल

रुपन्देही काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा

झापा- रुपन्देही–११ ले फ्यान्स क्लब बिआरसी भुटानलाई ३–१ ले हराउँदै मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रुपन्देहीको जितमा दीपक राईले उत्कृष्ट प्रदर्शन गरे। दीपकले रुपन्देहीको जितमा दुई गोल गरे। खेलको सुरुआतमै उनको गोलबाट रुपन्देहीले अग्रता लिएको थियो। उनले व्यक्तिगत दोस्रो गोल ७१ औं मिनेटमा गरेका थिए। उनको गोलबाट रुपन्देहीले अग्रता दोब्बर पार्‍यो। इन्जुरी समयमा रुपन्देहीका लक्ष्मण रुचालले अर्को गोल थपे।

सुरुआतमै पछि परेपछि फ्यान्सले खेलमा फर्कन सकेन। खेलको अन्त्यतिर फ्यान्सका रमेश केसीले सान्त्वना गोल फर्काए। 'हामीले जुनियर खेलाडी मैदानमा ओरालेका थियौं,' फ्यान्सका प्रशिक्षक युवराज राईले भने, 'तैपनि खेलाडीले सक्दो खेले। रुपन्देही  बलियो टिम हो। रुपन्देहीसँग प्रतिस्पर्धा गर्नु हाम्रा लागि महत्वपूर्ण अनुभव बटुल्ने अवसर हो।'

सोमबार फ्यान्सका गोलरक्षक निशान भुजेलले गल्ती गरेपछि रुपन्देहीले गोल गर्ने अवसर पाएको थियो। रुपन्देहीका विदेशी खेलाडी अरमान्डको प्रहार निशानले हेड गरी डिफ्लेक्ट गर्ने प्रयास गरे। निशानको गल्तीमा दीपकले गोल गर्ने अवसर पाए। फ्यान्सका प्रशिक्षक राईले निशानले गल्ती गरेको केही मिनेटमा उनको स्थानमा दिपांशु राउतलाई उतारे पनि रुपन्देहीलाई रोक्न सकेनन्। फ्यान्सका लागि २७ औं मिनेटमा अभिषेक राईले उत्कृष्ट गोल गर्ने अवसर खेर फाले। रुपन्देहीका गोलरक्षक दिलिप क्षेत्री बिट भइसकेपछि उनले प्रहार गरेको बल आकासिएको थियो। लगत्तै रुपन्देहीका विजय धिमालले पनि गोल गर्ने अवसर खेर फाले। पहिलो हाफमा १–० ले पछि परेको फ्यान्सले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्ने प्रयास गरेको थियो।

भुटानका नविन गुरुङ, जोहन, रमेश केसी र विजय शंकरले गोल गर्ने अवसर खेल फालेका थिए।

भुटानका जोहनको प्रहार रुपन्देहीका गोलरक्षक क्षेत्रीले बचाए। रुपन्देहीका अरमान्डले पोस्ट नजिकबाट गरेको हेड भुटानका गोलरक्षक राउतले रोकेका थिए।

७१ औं मिनेटमा पाएको फ्रिकिक अवसरमा दीपक राईले गोल गरेका थिए। उनको प्रहार भुटानका गोलरक्षक राउतले रोक्न सकेनन्। रुपन्देहीको जितमा दुई गोल गरेका दीपक म्यान अफ दि म्याच भए।

८० औं मिनेटमा फ्यान्सका रमेश केसीले गोल गरेर टिमलाई उत्साही बनाउने प्रयास गरेका थिए। गोलपछि फ्यान्सका खेलाडीले आक्रामक खेल्ने प्रयास गर्‍यो। तर इन्जुरी समयमा लक्ष्मणले गोल गरेपछि फ्यान्सको सम्भावना सकिएको थियो।

रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटा भने टोलीको प्रदर्शनबाट खुसी थिएनन्। 'जीतमा पनि चित्त बुझाउने ठाउँ छैन,' उनले भने, 'जीतमा बढी विश्वस्त हुँदा हामीले गोल अन्तर फराकिलो पार्न सकेनौं।'  खेलाडीले अपेक्षा गरे अनुरुप खेल्न नसकेको उनको भनाइ थियो।

जारी प्रतियोगितामा मंगलबार सिएमजी संकटा र एपिएफले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १९ पुस २०७३ ०४:२१ मंगलबार

रुपन्देही काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा