खेल

साबिक विजेता मनाङ सेमिफाइनलमा

हेटौंडा- साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। हेटौंडा–१० स्थित फरेस्ट्री खेल मैदानमा मनाङले एपिएफ क्लबलाई ३–२ ले हराउँदै उपाधि रक्षानजिक पुगेको हो।

अफ्रिकी खेलाडी सिसकोले ३२ औं मिनेटमा डोना थापाको कर्नरमा गोल गर्दै मनाङलाई अग्रता दिलाए।

५५ औं मिनेटमा एपिएफका रञ्जन विष्टलाई फाउल गरेबापत् मनाङका कप्तान सुजल श्रेष्ठलाई रेफ्री सुदिश पाण्डेले रातो कार्ड देखाए।

मनाङका लागि अफ्रिकी खेलाडी हफिज ओलावालेले ६६ औं मिनेटमा गोल गरे। उनले ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गदै टोलीलाई अग्रता दिलाए। खेल सकिन दुई मिनेट बाँकी रहँदा एपिएफका अञ्जन विष्टले गोल गर्दै टोलीलाई खेलमा फकाउने प्रयास गरेका थिए।

खेलमा अञ्जनले ८५ औं मिनेटमा प्रहार गरेको प्रहार बारमा लागेर फर्किएको थियो।मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीको फिटनेस कमजोर भएकाले खेल्न कठिन भएको बताए। एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले खेलाडी घाइते भएको कारण अप्ठ्यारो भएको बताए।

खेलमा एएफयू म्यान अफ द म्याच मनाङका मिडफिल्डर डोना थापा भए। उनले ट्रफीसहित नगद तीन हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताअन्तर्गत सोमबार संकटा क्लब काठमाडौं र ड्रुकस्टार क्लब भुटानबीच खेल हुने आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले जनाएको छ।

 

प्रकाशित: १८ पुस २०७३ ०३:५७ सोमबार

साबिक विजेता मनाङ सेमिफाइनलमा