खेल

पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा

धरान- नेपाल पुलिस क्लबले बृहत् राष्ट्रिय खेलकुदअर्न्तगत पुरुष फुटबलमा सोमबार मध्यमाञ्चललाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। खेल हारे पनि समूह ‘ख’ बाट उपविजेताको हैसियतमा मध्यमाञ्चलले पनि अन्तिम ४ मा स्थान पक्का गरेको छ।

धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबारै भएको समूह ‘ख’ को अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–१ को नतिजा सुम्पिएपछि पुलिस क्लबको बाटो खुलेको हो। पहिलो दुई खेल जितेको मध्यमाञ्चलले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। पुलिस र मध्यमाञ्चलको समान ६/६ अंक भए पनि ‘हेड टु हेड’को आधारमा पुलिस समूह विजेता बनेको हो।

आफ्नो खेल जिते पनि पुलिसले सेमिफाइनल प्रवेश निश्चित गर्न पूर्वाञ्चल र पश्चिमाञ्चलबीचको खेलको नतिजा कुर्नु परेको थियो। सोमबारको दोस्रो खेल पश्चिमाञ्चलले जितेको भए ‘हेड टु हेड’का आधारमा पुलिसको यात्रा समाप्त हुने थियो। यसअघि पश्चिमाञ्चलले पुलिसलाई ३–० ले पराजित गरेको थियो। हारपछि ३ अंकमा सीमित भएका पश्चिमाञ्चल र पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरिएका छन्।

पुलिसको जितमा कप्तान जुमानु राई, राम वाग्लेले १/१ गोल गरे भने १ आत्मघाती गोल उपहार पाएको थियो। मध्यमाञ्चलका दिनेश हेन्जनले गोल गरका थिए।

कप्तान जुमानुले २१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। बल अघि बढाउँदै गरेका पुलिसका रवि पासवानलाई मध्यमाञ्चलका खेलाडीले पेनाल्टी बक्सभित्र लडाएपछि रेफ्री लव खत्रीले पुलिसलाई पेनाल्टी प्रहार गर्ने अवसर दिएका थिए।

मध्यमाञ्चलका दिनेशले ६८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए। ७४ औं मिनेटमा पुलिसका बुद्ध लामाले गरेको क्रस क्लियर गर्ने क्रममा मध्यमाञ्चलका सञ्जीव कार्कीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए। खेल सकिन २ मिनेट बाँकी छँदा राम वाग्लेले अर्को गोल गर्दै पुलिसको जित पक्का गरेका थिए।

दोस्रो खेलमा राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङसहित विमल घर्तीमगर र हेमन्त गुरुङको साथ पाएको पश्चिमाञ्चलले पूर्वाञ्चललाई ३–१ को नतिजा सुम्पेको थियो। पूर्वाञ्चलको जितमा निसान लिम्बुले २ गोल गरे भने सुशीलकुमार यादवले १ गोल गरे। सुशीलको पासमा निसानले पाँचौं मिनेटमै पूर्वाञ्चललाई अग्रता दिलाएका थिए।

पश्चिमाञ्चलका अनिलले २० औं मिनेटमा बराबरी गोल फर्काएका थिए। सुवास गुरुङको फ्रिकिकमा अनिलले दर्शनीय हेड गोल गरेका थिए। तर त्यसको ६ मिनेट बित्न नपाउँदै सुशीलले पूर्वाञ्चललाई फेरि अग्रता दिलाए। ४१ औं मिनेटमा निसानले तेस्रो गोल थपे। मंगलबार एपिएफ र नेपाल आर्मीबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल सुदूरपश्चिमाञ्चल  र मध्यपश्चिमाञ्चलबीच हुनेछ।

प्रकाशित: १२ पुस २०७३ ०४:२४ मंगलबार

पुलिस मध्यमाञ्चल सेमिफाइनलमा