खेल

विनोदको तुफानी ब्याटिङले सेना सेमिफाइनलमा

विराटनगर- विनोद भण्डारीले एकै ओभरमा ५ छक्का हानेको खेलमा त्रिभुवन आर्मी क्लबले सोमबार मध्यपश्चिमाञ्चललाई ३० रनले पराजित गर्दै बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनल पक्का गरेको छ।

टस हारेर ब्याटिङ निम्त्याइएको आर्मीले ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। विनोदले २३ बलमा ८ छक्का र ३ चौका सहित अविजित ६७ रन जोडेका थिए। अनिल मण्डलले ४१ र राजेश पुलामीले २७ रन बनाए। मध्यपश्चिमाञ्चलका सिद्धान्तराज शाही र ललित प्याकुरेलले समान २/२ विकेट लिए भने नसिर अन्सारी र अमर रौतेलाले १/१ विकेट लिए।

१ सय ५८ रनको लक्ष्य पछ्याएको मध्यपश्चिमाञ्चलले ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो। मध्यपश्चिमाञ्चलका प्रज्वल शाहीले २९, राजवीर सिंहले १९, प्रनित थापाले १५ र अनुपम सिंहले १३ रन बनाए। आर्मीका विक्रम सोबले ३ विकेट लिए भने अभिनाश कर्ण र सागर पुनले २/२ विकेट लिए।

दोस्रो जितसँगै ४ अंक जोडेको आर्मी समूह ‘ए’को दोस्रो स्थानमा छ। शीर्ष टोली एपिएफको पनि ४ अंक छ। आर्मी र एपिएफबीच हुने समूह चरणको अन्तिम खेलको विजेता नै समूह विजेता बन्नेछ।

समूह ‘बि’मा रहेको नेपाल पुलिस क्लबले पूर्वाञ्चललाई ५० रनले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको पुलिसले ८ विकट गुमाएर ५० रन बनाएको थियो। पुलिसका आरिफ शेखले ४०, सुनिल धमलाले २२ मन्जित श्रेष्ठले २० रन बनाए। दिलिपनाथले १५ रन बनाउँदा दिपेन्द्र ऐरी १५ रनमा अविजित रहे। पूर्वाञ्चलका फिर्दोस अन्सारीले ४ र मुकुन्द यादवले २ विकेट लिए।

१ सय ४५ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चल ९४ रनमा अलआउट भयो। पूर्वाञ्चलका सन्दीप ढुंगानाले २९, मुकुन्दले २८ र सुने पुनले १३ रन बनाए। पुलिसका ललित भण्डारी र रामनरेश गिरीले ३/३ विकेट लिए। पुलिस ४ अंकका साथ समूह ‘बि’ को शीर्ष स्थानमा छ। समान २/२ अंक बनाएका मध्यमाञ्चल र पश्चिमाञ्चल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

प्रकाशित: १२ पुस २०७३ ०४:२० मंगलबार

विनोदको तुफानी ब्याटिङले सेना सेमिफाइनलमा