खेल

ओरालो लाग्दै बाँके क्रिकेट

काठमाडौं– उनीहरूसँग क्रिकेटमा आफूले गरेका कामको सूची लामै छ । प्राप्त उपलब्धि पनि धेरै छन् । अझ धेरै छन्, योजना र तिनलाई कार्यान्वयन गर्न नसकेका गुनासा । तर क्रिकेट स्वयं ओरालो लाग्दो छ, शून्यमै पुग्न लागेजस्तो । कुनै बेला क्रिकेटको सहर भनेर चिनिने बाँकेको परिचय फेरिइसकेको छ । क्रिकेट खेल सुस्ताउँदै छ ।

क्रिकेट नेपालगन्ज सहरको चिनारी थियो । क्रिकेटलाई हृदयदेखि माया गर्थे बाँकेवासी । समर्थकको कमी अहिले पनि छैन । नेपालको सर्वाधिक गर्मी हुने ठाउँ नेपालगन्ज दिउँसो खेल्न कठिन हुन्छ । तर एक दशकअघि त्यहाँको प्रचण्ड गर्मीसँग जुझ्दै क्रिकेटमा एउटा महŒवपूर्ण अभियानको थालनी भएको थियो । महिलालाई क्रिकेट खेल्न उत्प्रेरित गर्ने अभियान । हिन्दु, मुस्लिम धर्मावलम्बीको बाहुल्य भएको बाँकेमा महिला क्रिकेटको सुरुआत गर्न सहज थिएन । सामाजिक रूपमा थुप्रै कठिनाइ थिए । तर प्रचण्ड गर्मी र सामाजिक कठिनाइ पार गर्दै बाँकेमा महिला क्रिकेट अभियान सफल भयो । बाँकेबाट पुरुषसँगै महिला खेलाडीले पनि राष्ट्रिय स्तरमा आफ्नो प्रभाव जमाए । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा राष्ट्रिय टोलीमा ८ खेलाडी बाँकेका हुन्थे । अहिले अवस्था त्यो छैन ।

गर्मीसँगै जुझ्दै बाँकेको क्रिकेट फस्टाएको थियो । रात्रिकालीन समयमा क्रिकेट प्रतियोगिता हुन्थ्यो नेपालगन्जमा । कुनै वर्ष त दुईवटा रात्रिकालीन क्रिकेट प्रतियोगिता भए । जुन नेपालको एउटा चर्चित र लोकप्रिय प्रतियोगिता थियो । जहाँ भारत उत्तर प्रदेश क्षेत्रका खेलाडी पनि रात्रिकालीन क्रिकेट खेल्न आउँथे ।

खेलको महŒव खेलमा मात्र सीमित पक्कै पनि हुँदैन । खेलकुद सभ्यताको दर्पण हो । समृद्धि र संस्कारको मापक हो । खेलले त्यो समाजको प्रतिष्ठा र क्षमता चिनाइरहेको हुन्छ । बाँकेका लागि पनि क्रिकेट एउटा संस्कार थियो । जसले स्टार खेलाडी उत्पादन गरेर नयाँ पुस्तालाई सकारात्मक बाटोमा लाग्न प्रेरित गरिरहेथ्यो । तर केक्केन गरेको डिङ हाँक्ने, एक–अर्काविरुद्धको शक्ति संघर्षमै रमाइरहने र खेल विकासका लागि माखो समेत नमार्ने सीमित पदाधिकारीको खिचातानीले बाँकेको न्यानो क्रिकेट भावनामाथि कुठाराघात गरिरहेको छ ।

महेन्द्र रंगशाला र मंगलप्रसाद उमाविको मैदानमा आफ्नो क्षमता निखारेका महेश क्षेत्री, नेरी थापा, ममता थापा लगायतका खेलाडी नेपालगन्जको मात्र नभएर पश्चिम क्षेत्रको आदर्श हुनुपर्ने थियो । तर त्यो वातावरण बन्न सकेको छैन । भएका क्रिकेट प्रतिभाले सम्मानपूर्ण व्यवहार पाउन सकिरहेका छैनन् ।

खेलाडी र खेललाई अहिले त्यहाँ सम्मानजनक स्थानमा राख्न सकिएको छैन । बाँकेमा क्रिकेट खेलाडी असफल भइरहेका छन्, राजनीति सफल भइरहेको छ । बाँकेको क्रिकेट अवस्था खस्कनुमा क्रिकेटका सीमित पदाधिकारी मुख्य जिम्मेवार छन् । ‘कुनै बेला नेपालगन्जलाई क्रिकेटको सहर भनेर चिनाएका व्यक्ति क्रिकेट विकासमा निस्क्रिय छन् । क्रिकेटमा व्यक्तिगत स्वार्थ हाबी छ,’ राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान नेरी भन्छिन्, ‘पदाधिकारी नेतृत्वमा पहँुच बढाउन सफल भइरहेका छन् । तर बाँकेमा क्रिकेट असफल भइरहेको छ । देशकै खेल राजनीतिमा बाँकेका पदाधिकारी अगाडि बढिरहेका छन् भने खेलाडी राष्ट्रिय टोलीबाट पछाडि हट्ने क्रम बढिरहेको छ । राष्ट्रिय क्रिकेट राजनीतिमा बाँकेको उपस्थिति बढ्दैछ, स्थानीय प्रतियोगिता घटिरहेका छन् ।’

राष्ट्रिय टोलीबाट खेलिसकेका ओपनिङ ब्याट्सम्यान महेश क्षेत्री बाँकेमा क्रिकेट खेल्ने वातावरण कायम नरहेको गुनासो गर्छन् । ‘खेलाडीलाई हरेक चरणमा उत्साह र हौसला दिने नेतृत्व र वातावरण चाहिन्छ । तर नेपालगन्जमा क्रिकेट खेलाडीलाई मनोबल बढाउन कुनै काम हुन सकेन,’ महेशले भने, ‘अग्रज पुस्ताबाट नै नयाँ खेलाडीले धेरै कुरा सिकेका हुन्छन् । नयाँ खेलाडीको क्षमता निखार्न हामीले सहयोग गर्नुपर्छ । तर यहाँ हामीले नयाँ खेलाडीलाई सिकाउने वातावरण बन्न सकेन ।’

५ वर्ष अघि नेपालगन्ज टोली प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट खेल्न आउँथ्यो । पदाधिकारीमा पनि क्रिकेटमा काम गर्ने उत्साह थियो । उनीहरू क्रिकेटमा नेपालगन्जलाई उदाहरणीय बनाउने प्रयास गर्थे । अहिले सहभागितामै सीमित हुने गरेको छ ।

नेपाली महिला क्रिकेटको सुरुआत नेपालगन्जबाटै भएको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान एलबी क्षेत्रीले प्लान इन्टरनेसनलसँग मिलेर बाँकेमा विद्यालयस्तरीय क्रिकेट अभियान सुरु गरे, जुन नेपाली महिला क्रिकेट विकासको महत्वपूर्ण कोसेढुंगोको रुपमा स्थापित छ । त्यतिबेला उनलाई संजय सिंह, सुनील हमाल, दुर्गा थापा लगायत थुप्रै क्रिकेट पदाधिकारीले साथ दिएका थिए । बाँकेले नेपालमा पहिलोपल्ट महिला राष्ट्रिय क्रिकेट गर्न सफल भएको थियो ।

महिलालाई क्रिकेट खेल्न प्रोत्साहन गरेको नेपालगन्जलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सन् २००६ मा विकास कार्यक्रमअन्तर्गत उत्कृष्ट महिला क्रिकेट ‘इनिसिएटिभ’ अवार्ड प्रदान गरेको थियो ।

नेपालगन्जबाट सुरु भएको अभियानले देशकै महिला क्रिकेट विकासमा पनि सहयोग गरेको छ । नेपालगन्जकी नेरी थापाको कप्तानीमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो । नेरी अझै पनि महिला टोलीकी सफल खेलाडीमा पर्छिन् । त्यस्तै महेशले कुनै बेला ओपनिङ ब्याट्सम्यानको रूपमा राष्ट्रिय टोलीका लागि योगदान गरेका थिए । नेरी र महेश मात्र होइनन्, थुप्रै खेलाडी नेपाली क्रिकेट सफलताको एउटा हिस्सा बनेका छन् ।

तर नेपालगन्जको क्रिकेट पदाधिकारीबीको शक्ति संघर्षको सिकार बनिरहेको छ । आफ्नो ‘इगो’ पूरा गर्न क्रिकेट माध्यम बनेको छ । कुनै बेला बाँकेमा एलबी क्षेत्री क्रिकेट विकासको रोलमोडल बनेका थिए । उनी पछि विनोद मैनाली नेतृत्वमा आए । बाँकेको क्रिकेट विकासमा उनीहरू दुवैको उत्तिकै योगदान छ । क्रिकेट संस्कार बुझेका क्षेत्री र नेकपा एमालेमार्फत नेतृत्व विकास गर्दै आएका मैनाली दुवैले क्रिकेटमा सक्रिय भएर काम गरे । तर उनीहरूको त्यो सक्रियता लामो समय टिक्न सकेन । त्यसैले स्थानीय खेल जगतबाट सम्मान पाएका उनीहरु नै कालान्तरमा विकासको बाधकका रुपमा उभिएको गुनासो आउन थालेका छन् । स्थानीयका अनुसार उनीहरूको निस्क्रियताले क्रिकेट विकासमा अवरोध पु¥याइरहेको छ ।

पूर्व कप्तान क्षेत्री भने क्रिकेट असफल हुनुमा नेतृत्व मुख्य जिम्मेवार भएको बताउँछन् । ‘म पदमा भएको भए जिम्मेवार हुन सक्थँे । नेतृत्व गर्ने व्यक्तिले सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । तर नेतृत्व गर्नेले त्यो आवश्यक ढान्दैनन्,’ मैनालीप्रति लक्षित गर्दै क्षेत्रीले भने, ‘उहाँ (विनोद मैनाली) र मेरो बीचमा कुनै प्रतिस्पर्धा छैन । मैले सुरुमा क्रिकेट विकासको मोडल थालेँ । तर पछि उहाँले त्यसलाई निरन्तरता दिन सक्नुभएन । संकुचित सोचले क्रिकेट विकास हुँदैन ।’
पूर्व कप्तानको नाताले बाँकेमा आफूले पनि आवस्यक काम गर्न नसेकको उनी स्विकार्छन् । उनले थपे, ‘यहाँको नेतृत्वले क्रिकेटलाई माया गर्न सकेन । हामीले एकअर्कालाई सम्मान गर्न सकेनौं । त्यसले समस्या बढाइरहेको हो । म सहकार्य, समन्वय गर्न जुनसुकै समय तयार छु । नेतृत्वले चासो देखाउनुप¥यो ।’

‘हेर्दा सामान्य लागे पनि बाँके क्रिकेटमा एउटा शीतयुद्ध चलिरहेको छ । सन् १९७० र १९८० को दशकमा शीतयुद्धले ओलम्पिकमा असर पारेजस्तै यहाँ पनि दुई पदाधिकारीको द्वन्द्व त्यस्तै छ । एकले अर्कोलाई निषेध गर्ने युद्ध उनीहरु लडिरहेका छन्,’ एक खेलाडीले भने ।

क्षेत्री र मैनाली दुवै नेपाली क्रिकेटको उच्च तहमा पुगिसकेका व्यक्ति हुन् । दुवै राष्ट्रिय स्तरमा नेतृत्व गर्ने क्षमता राख्छन् ।
नेपाल क्रिकेट संघ (क्यान) र राखेपका उपाध्यक्ष समेत भइसकेका मैनाली पनि विवादले क्रिकेटको विकासमा अवरोध गरेको स्विकार्छन् । ‘आपसी विवादले क्रिकेट कहाँ पुग्छ भन्ने उदाहरण हामी भइसकेका छौं । बाँकेको क्रिकेट शून्य अवस्था पुगिसक्यो । त्यसको दोषी हामी सबै हो,’ मैनालीले भने, ‘उहाँ (एलबी) र मबीच केही मनमुटाव छन् । तर क्रिकेटका लागि हामी मिल्नुको विकल्प छैन । मनमुटाव चिर्दै काम गर्न सक्नुपर्छ । ’मैनालीले अप्ठेरो अवस्थामा क्षेत्रीबाट साथ नपाएको आरोप लगाए ।

मैनालीले क्रिकेटबाटै आफूलाई खेलकुद नेताका रूपमा स्थापित गरेका हुन् । एमालेको सरकार भएका बेला उनी राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य बन्ने हैसियतसम्म पुगे । खेलकुदमा मैनालीको जिम्मेवारी बढ्दै गयो । तर बाँकेको क्रिकेटलाई भने उनले न्याय गर्न सकेनन् । पद बढे पनि उनको काम गर्ने शैली बढ्न सकेन । कप्तान क्षेत्री पनि शक्तिसंघर्षका दौडमा धेरै व्यस्त देखिए । उनी क्रिकेटमा सहकार्य गर्न भन्दा शक्ति प्राप्त गर्ने कुरामा विश्वास गर्न थाले । जसका कारण अहिलेसम्म क्षेत्री र मैनाली शक्तिसंघर्षको दौडमा छन् ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली जुँगाको लडाइँ क्रिकेट विकासको बाधक बनिरहेको बताउँछन् । भन्छन्, ‘उहाँहरूले सँगै मिलेर गरेका काम सफल भए । तर बाँके क्रिकेटसँग अहिले कुनै नयाँ योजना छैन । उहाँहरू (क्षेत्री र मैनाली) दुवैको उद्देश्य एउटै हो । दुईबीच सहकार्य हुन सकेको छैन । त्यसले दुवैलाई घाटा भइरहेको छ ।’
ओलीकाअनुसार बाँकेको क्रिकेट राष्ट्रिय राजनीतिको सिकार भइरहेको छ । ‘उहाँ दुवैजना नेतृत्व तहमा फरक व्यक्तिसँग नजिक हुनुहुन्छ । राष्ट्रिय राजनीतिको असर स्थानीय तहसम्म पुग्छ ।  त्यसको प्रभाव खेल र खेलाडीमा पर्छ,’ राष्ट्रिय क्रिकेट राजनीतिमा मैनाली र क्षेत्री फरक गुटको हिस्सा भएकोप्रति संकेत गर्दै ओलीले भने ।

बाँके क्रिकेटलाई पुरानै अवस्थामा फर्काउने पहल पनि मैनाली र क्षेत्रीकै अगुवाईमा हुनुपर्ने ओलीको भनाई छ । ‘यहाँको क्रिकेट निस्क्रिय भएको धेरै भइसक्यो । अझै हामीसँग केही समय बाँकी छ । सधँै यही पुस्ताले नेतृत्व गर्ने होइन । तर तत्कालका लागि उहाँहरुले मिलेर काम गर्नुको विकल्प छैन,’ ओलीले भने, ‘अहिले गर्न नसके भविष्यमा हामीसँग पश्चाताप गर्ने विकल्प मात्र रहनेछ ।’

पदाधिकारी विवादकै कारण बाँके महत्वाकांक्षी भौतिक पूर्वाधार निर्माणको अभियानमा पनि चुक्न थालेको छ । एक दशकअघि क्षेत्री बाँके क्रिकेटको नेतृत्वमा हुँदा कोहलपुरमा एउटा क्रिकेट रंगशाला बनाउने योजना सुरु भएको थियो । त्यो योजना राजधानी बाहिर बन्न लागेको खेलकुदकै सर्वाधिक महŒवको योजना थियो । जुन रंगशाला अहिलेसम्म बन्न सकेको छैन । मध्यपश्चिम क्षेत्रकै प्रतिष्ठाको योजनालाई नेपालगन्जले आफ्नो योजना मान्न सकिरहेको छैन । जिल्लाका दुई शहरबीचको दुरी १५ किलोमिटरमात्र भए पनि पदाधिकारीहरुको विवादले नेपालगञ्ज र कोलहपुरबीच छुट्टै द्वन्द्व स्थापित भएको छ । जसका कारण रंगशालाको योजना अलपत्र अवस्थामा छ ।
 

प्रकाशित: १८ कार्तिक २०७३ ०५:२४ बिहीबार

ओरालो लाग्दै बाँके क्रिकेट