खेल

संकटमा जननी खेलको अस्तित्व

काठमाडौं- जिम्न्यास्टिकलाई खेलको जननी मानिन्छ। सन्तुलन, लचकता, बल, नियन्त्रण, धैर्यता र साहसिक गुणको समिश्रणका कारण जिम्न्यास्टिक हरेक खेलको जननीरूपमा चिनिन्छ। हरेक खेलको प्रमुख चरणमा जिम्न्यास्टिकलाई आधार मान्ने गरिन्छ। तर नेपालमा भने खेलको जननी जिम्न्यास्टिक प्राथमिकतामा पर्न सकेको छैन।

वर्षमा एउटा राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु पनि खेलाडीका लागि खुसीको खबर हुन्छ। ५० वर्ष पुरानो सामग्रीमै खेलिरहेका छन् नेपाली खेलाडी। २०२३ सालमा जापानी सहयोगमा नेपालमा जिम्न्यास्टिक खेलको सुरुआत भएको पाइन्छ। त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद(राखेप)ले जिम्न्यास्टिक संघ गठन गरेर खेलको विकास गर्ने कदम चालेको थियो। तर ४६ वर्ष बित्दा नेपाली खेलाडीले ८ अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र खेल्ने मौका पाए। नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ एसियन र ४ दक्षिण एसियाली जिम्न्यास्टिक प्रतियोगिता हुन्।

नेपाली खेलकुदको राजनीतिक खिचातानीको मारमा पर्ने प्रमुख खेल बन्यो जिम्न्यास्टिक।दुईटा संघ अस्तित्वमा आएपछि घरेलु प्रतियोगितामा कमी आयो। अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला नेपाली खेलाडी अन्योलताबीच भाग लिने अवसर पाउने गर्छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का निवर्तमान अध्यक्ष रहेका धु्रवबहादुर प्रधान र राखेपका पूर्व सदस्यसचिव किशोरबहादुर सिंह दुई संघको नेतृत्व गरे। प्रधानले अन्तर्राष्ट्रिय मान्यताप्राप्त संघ र सिंहले राष्ट्रिय मान्यताप्राप्त संघको अध्यक्ष भएर जिम्मेवारी सम्हाले। तर नेपाली जिम्न्यास्टिकको ओरालो लाग्ने क्रम रोकिएन।

हालै त्रिपुरेश्वरमा प्रथम पुष्पलाल स्मृति अन्तरविद्यालय जिम्न्यास्टिकप्रतियोगिता सम्पन्न भयो। प्रतियोगिता व्यवस्थित गर्न जिम्न्यास्टिकका प्रशिक्षकदेखि लिएर स्वयंसेवक सक्रिय भएर लागिपरे। बिहान खाएको खाजाको भरमा बेलुका ५ बजेसम्म मुख्य प्रशिक्षक राजेश्वरमान स्थापितसहितरेफ्री रस्वयंसेवकले स्वतर्स्फूत रूपमा काम गरिरहे।

मुख्य प्रशिक्षक स्थापित सरकारको प्राथमिकतामा नपरेका कारण जिम्न्यास्टिक खेलले विकास गर्न नसकेको गुनासो पोख्छन्। उनले भने, 'जिम्न्यास्टिक नेपालको पुरानो संघमा पर्छ तर हाम्रोभन्दा पछि आएका संघले धेरै प्रगति गरिसके। जिम्न्यास्टिक भने आफ्नो अस्तित्व जोगाउन संघर्ष गरिरहेको छ।'

उनी थप्छन्, 'विवाद आफ्नो ठाउँमा छ। तर राखेपले जिम्न्यास्टिकको महŒवबुझ्न सकेन। एसियन, ओलम्पिक जस्ता प्रतिष्ठित प्रतियोगितामा जिम्न्यास्टिकलाई प्राथमिकतामा राखिन्छ तर दक्षिण एसियाली खेलकुद गर्दा नेपालले जिम्न्यास्टिक राख्न सक्दैन।'

दक्षिण एसियाली खेलकुदमा जिम्न्यास्टिक राखे पदक जित्न सकिने उनको दाबी छन्। तर त्यसतर्फ सम्बन्धित निकायको ध्यान नपुगेकोमा उनको गुनासो छ।

स्थापित नेपाली जिम्न्यास्टिकका सफल खेलाडीमा चिनिन्छन्। उनले सन् १९९२ मा भएको पहिलो दक्षिण एसियाली जिम्न्यास्टिक च्याम्पियनसिपमा फरक दुई इभेन्टमा रजत र कांस्य पदक जितेका थिए। यसैगरी १९९४ मा भारतमा सम्पन्न एसियन जिम्न्यास्टिक च्याम्पियनसिपमा वरीयतामा चौथो स्थान हासिल गरेका थिए। जसलाई  नेपाली जिम्न्यास्टिकको अहिलेसम्म उत्कृष्ट प्रदर्शनका रूपमा लिइन्छ।

पुष्पलाल स्मृति जिम्न्यास्टिक प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ पहिलोपटक आयोजना गरेको प्रतियोगिताबाट उत्साही छन्। उनी नेपालमा जिम्न्यास्टिकको महŒवबुझ्न नसकिएको बताउँछन्। 'खेलाडीको सहभागिताले हामी उत्साही भएका छौं। सोचेभन्दा धेरै विद्यालयका खेलाडीले भाग लिए। लोप हुन लागेको खेलमा खेलाडीको सहभागिताले थप अरु प्रतियोगिता गर्ने हौसला जागेको छ,' उनले भने, 'हाम्रो लक्ष्य नेपालमा निस्त्रि्कय भएका खेलअगाडि बढाउनु हो। जिम्न्यास्टिकमा आर्कषण बढाउन सकिन्छ तर अहिले खेलिरहेका खेलाडी १० वर्षसम्म कसरी टिकाउने भन्ने वातावरण बनाउन आवश्यक छ।'

प्रतियोगितामा ५१ विद्यालयका १ सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा जिम्न्यास्टिकको ६ इभेन्ट हुन्छ। तर विद्यालयस्तरको प्रतियोगिता भएका कारण आयोजकले दुई इभेन्टमात्र समावेश गरेको थियो। राखेपकभर्डहलमा भूइँव्यायाम अर्थात फ्लोर एक्ससाइज र भल्टिङ हर्स इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा भाग लिइरहेका जेम्स स्कुलका प्रशिक्षक सोनाम शेर्पा सबै नेपालीलाई जिम्न्यास्टिकको महŒव बुझाउन आवश्यक देख्छन्। विद्यार्थीलाई पढाइसँगै शारीरिक विकासमा सहयोग गर्ने भएपनि यसलाई प्रचार गर्न नसकिएको उनको भनाइछ। लामाले भने, 'जिम्न्यास्टिक खेलबारे पहिला अभिभावकलाई बुझाउनुपर्छ अनि संघले नियमित रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता गरे जिम्न्यास्टिकले प्रगति गर्न सक्छ। तर हाम्रा खेलाडीले वर्ष एउटा राष्ट्रिय प्रतियोगिता खेल्न पनि कठिन छ।'

नेतृत्वको लडाइँका कारण खेलाडीको संख्या पनि बढ्न नसकेको लामाको तर्क छ। १० वर्ष खेलाडीका रूपमा सक्रिय लामाले एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेल्न नपाएरै खेल करिअरबाट बिदा लिएका थिए। आफूजस्तै धेरै खेलाडी विवाद कारण आफ्नो भविष्य जिम्न्यास्टिकमा नदेखेर अन्य क्षेत्रमा लागेको लामा बताउँछन्। ८ वर्षयता प्रशिक्षकका रूपमा काम गरिरहेका लामा भन्छन्, 'संघले सक्रिय भएर काम गरे जिम्न्यास्टिक खेलाडी उत्पादन बढ्छ। हाम्रा खेलाडीले कम्तीमा वर्षमा एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउनुपर्छ। नत्र जिम्न्यास्टिक किन खेल्ने?यसबारेमा हामीले अभिभावक र आममानिसलाई बुझाउन सक्नुपर्छ।'

प्रकाशित: २२ भाद्र २०७३ ०४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App