खेल

ब्राजिलले जित्यो स्वर्ण

रियो दि जेनेरीयो- जर्मनीलाई ट्राइब्रेकरमा पराजित गर्दै आयोजक ब्राजिलले पुरुष फुटबलतर्फ स्वर्ण पदक हात पारेको छ। गएराति सम्पन्न फाइनलमा ब्राजिलले जर्मनीलाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफमा नेइमारले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफमा जर्मनीका म्याक्स मेयरले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो।

जर्मनीका निल पिटरशन अन्तिम ट्राइब्रेकरमा गोल गर्न चुके। उनको प्रहार ब्राजिलका गोलरक्षक व्येभरटोनले रोकेका थिए। नेइमारले अन्तिम प्रहारलाई गोलको दिशा दिँदै ब्राजिलको लागि ओलम्पिक इतिहासमै फुटबलतर्फको पहिलो स्वर्ण पदक पक्का गरेका थिए।

यस जितसँगै ब्राजिलले सन् २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीसँग भोगेको ७-१ गोल अन्तरको हारको बदलासमेत लिएको छ।

प्रकाशित: ५ भाद्र २०७३ ०५:४१ आइतबार

ब्राजिलले जित्यो स्वर्ण