खेल

अष्ट्रेलियालाई ४८ वर्षपछि पौडीको स्वर्ण

रियो दी जेनेरियो- गल्फले १ सय १२ वर्षपछि विवादास्पद रूपमा ओलम्पिकमा पुनरागमन जनाएको बिहीबारको दिन अस्ट्रेलियाका नयाँ सनसनी किशोर पौडीवाज काइल चाल्मर्सले ओलम्पिकको १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका छन्।

१८ वर्षे पौडीवाज चाल्मर्स यो विधामा स्वर्ण पदक जित्ने ४८ वर्षमा पहिलो अस्ट्रेलियन खेलाडी हुन्। ४७.५८ सेकेन्डमा भित्ता छुँदै चाल्मर्सले स्वर्णमा कब्जा जमाउँदा बेल्जियमका पिटर टिमर्स रजत तथा २०१२ का स्वर्ण पदकधारी अमेरिकाका नाथान एड्रियान कांस्य पदकमा सीमित भए।

माइक वेन्डेनले १९६८ मा मेक्सिको सिटीमा जितेपछि १ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्ने चाल्मर्स पहिलो अस्ट्रेलियाली पौडीवाज हुन्। तर उनले यति लामो समय आफ्नो देश स्वर्णरहित भएको आफूले याद नगरेको बताए। 'इमान्दारीसाथ भन्ने हो भने मलाई साँच्चै थाहा थिएन। म यस्ता इतिहास त्यति धेरै पछ्याउने गर्दिनँ,' उनले भने, 'मलाई बरु अलि अलि जानकारी हुने खेल भनेको बास्केटबल, सकर र फुटबल हुन्। यी खेलमा हामी थोरैपटक हारेको पनि मैले याद गरेको छु।'

चाल्मर्सले स्वर्ण जित्नुअघि अमेरिकाकी केटी लेडेच्कीले जारी प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पारेकी थिइन्। उनले बिहीबार अमेरिकी टोलीका तर्फबाट ४ गुणा २ सय मिटर रिलेमा स्वर्ण जितेकी थिइन्। उनले यसअघि २ सय र ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितिसकेकी थिइन्। यसैगरी ओलम्पिक इतिहासमा अघिल्लो दिन व्यक्तिगत २० र २१ औं स्वर्ण पदक जितेका माइकल फेल्पस बिहीबार २ सय मिटर व्यक्तिगत मिड्लेको पनि फाइनलमा पुगे।

कजाकस्तानका दिमित्री बालान्डिनले देशका लागि दुर्लभ स्वर्ण पदक जित्ने क्रममा २ सय मिटर ब्रेस्टस्ट्रोकको स्वर्णमा कब्जा जमाए। सोभियत युनियनबाट छुट्टिएपछि कजाकस्तानले ओलम्पिकमा जितेको पौडीको यो पहिलो स्वर्ण पदक हो। कजाकस्तानले रियो ओलम्पिकका सुरुआती पाँच दिनमा जितेको यो दोस्रो स्वर्ण पदक थियो। भारोत्तोलनमा यसअघि कजाक खेलाडी निजात राहिमोभले पुरुष ७७ केजीमा स्वर्ण पदक जितेका थिए।

ओलम्पिक खेलकुदमा पौडी सबैभन्दा हाबी भइरहँदा बिहीबार गल्फले एक दशकभन्दा लामो समयपछि पुनरागमन जनायो। सेन्ट लुइस १९०४ पछि पहिलो पटक गल्फ ओलम्पिकमा फर्केको हो। त्यतिबेला क्यानडाका जर्ज लियोनले पुरुषतर्फको उपाधि जितेका थिए। लामो समयपछि पुनरागमन जनाउन सफल भए पनि गल्फको उपस्थिति विवादमा परिसकेको छ। विश्व वरीयताको शीर्ष चारमा रहेका जेसन डे, डस्टिन जोन्सन, जोर्डन स्पिथ र रोरी म्याकलोरीसहित थुप्रै स्टार खेलाडीले सहभागिता नजनाएका कारण आगामी संस्करणमा गल्फले निरन्तरता पाउने विषयमा नै शंका गर्न थालिएको छ।

उनीहरूले जिका भाइरसका कारण देखाउँदै ब्राजिल ओलम्पिकमा सहभागिता नजनाउने निर्णय गरेका थिए। तर त्यसले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पदाधिकारीहरू गल्फ समावेश गर्ने आफ्नै निर्णयप्रति निराश भएका छन्। आइओसीका अध्यक्ष थोमस बाचले खेललाई निरन्तरता दिने विषयमा निर्णय गर्दा स्टार खेलाडीको अनुपस्थितिलाई पनि एउटा मुख्य आधार बताउने बताएका छन्।

जापानमा चार वर्षपछि हुने टोकियो ओलम्पिक २०२० मा जिम्न्यास्टिकको स्थान पक्का भइसकेको अवस्थामा जापानी स्टार कोहेई उचिमुराले जिम्न्यास्टिकमा आफ्नो प्रभाव कायम गर्ने क्रममा बुधबार लगातार दोस्रो अलराउन्ड स्वर्ण पदक जितेका छन्। ०.०९९ अंकले मात्र स्वर्ण पदक जितेका उचिमुराले भने, 'म अन्तिम समयसम्म शान्तपूर्वक सन्तुलन कायम राख्न सफल भएँ। दबाबमा नआई शान्तिपूर्वक खेल्न सक्नु नै महत्वपूर्ण भयो जस्तो लाग्छ।'

पुरुषतर्फको रग्बी सेभेनमा स्तब्धपूर्ण नतिजाहरू आउँदा न्युजिल्यान्ड जापानसँग पराजित भयो। पछि ओलम्पिकमा पहिलोपटक स्वर्ण पदक जित्ने लक्ष्यमा रहेको फिजीसँग पराजित हुँदै महारथी न्युजिल्यान्ड क्वार्टरफाइनलबाट बाहिरियो। जापानले क्वार्टरफाइनलमा फ्रान्समाथि स्तब्धपूर्ण विजय हासिल गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो।

फेन्सिङमा ट्युनिसियाकी इनेस बाउबार्की पदक जित्ने पहिलो अफ्रिकी महिला बनिन। उनले व्यक्तिगत स्पर्धामा कांस्य पदक जितेकी थिइन्। 

यसैगरी साइक्लिङमा भेट्रान फाबियन कान्सेलारा र क्रिस्टिन आर्मस्ट्रोङले पुरुष तथा महिलाको स्वर्ण पदक जिते। ४३ औं जन्मदिनभन्दा एक दिनअघि जितेको यो स्वर्ण आर्मस्ट्रोङको लगातार तेस्रो हो। बास्केटबलमा स्टार खेलाडीले भरिपूर्ण अमेरिकाको पुरुष टोलीले अस्ट्रेलियालाई ९८–८८ को नतिजामा हराउन निकै संघर्ष गर्नुपर्‍यो।

प्रकाशित: २८ श्रावण २०७३ ०४:१० शुक्रबार

अष्ट्रेलियालाई ४८ वर्षपछि पौडीको स्वर्ण