खेल

मेसी र एम्बाप्पे वर्ष खेलाडीमा मनोनयन

कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसी फिफा वर्ष २०२२ को उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बिहीबार सार्वजनिक गरेको गत वर्षको उत्कृष्ट खेलाडीको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेसी र एम्बाप्पे परेका हुन्। मेसीले आफ्नो कप्तानीमा गत महिना सम्पन्न कतार विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए। फ्रान्सका एम्बाप्पेले पनि आफ्नो टोलीलाई फाइनलसम्म यात्रा तय गराउन मद्दत गरे पनि लगातार दोस्रो पटक विश्वकप जिताउन असफल भए। मेसीले यसअघि एक पटक मात्र फिफा वर्षखेलाडीको पुरस्कार जितेका छन्।  

आफ्नै कप्तानीमा अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै मेसीले फुटबल करियरलाई यादगार बनाएका थिए। यससँगै मेसीले आठौं पटक बलोन डी’ओरको बलियो दाबेदारका रूपमा पनि आफूलाई उभ्याएका छन्। विश्वकपको फाइनलमै ह्याट्रिक गरेका एम्बाप्पे पनि त्यसका दाबेदार हुन्। उनीहरूसँगै पिएसजीकै दुई खेलाडी नेइमार र असरफ हाकिमी पनि गत वर्षको फिफा वर्ष उत्कृष्ट खेलाडीको सूचीको मनोनयनमा परेका छन्।  

गत वर्ष बलोन डी’ओर विजेता रियाल मड्रिडका करिम बेन्जिमा र गत दुई वर्ष फिफाको पुरस्कार विजेता रोबर्ट लेवान्डोवस्की पनि उक्त सूचीमा छन्। उक्त सूचीमा म्यानचेस्टर सिटीका जुलियन अल्भारेज, केभिन डी ब्रुएना, इर्लिङ हालान्ड तथा रियाल मड्रिडका लुका मोड्रिच र भिनिसियस जुनियरका साथै मोहम्मद सालाह, साडियो माने र जुड बेलिङ्घम पनि समावेश छन्। चोटका कारण पछिल्ला ६ महिना मैदानबाहिर रहेकी एलेक्सिया पुटेइयास महिलातर्पm गत वर्षको उत्कृष्ट खेलाडीको सूचीमा परेकी छन्।  

बार्सिलोना र स्पेनकी मिडफिल्डर उनले गत वर्ष उक्त अवार्ड जित्दै बालोन डी’ओरको अवार्ड पनि रक्षा गरेकी थिइन्। आर्सनलकी स्ट्राइकर बेथ मिड, लेह विलियम्सन र केइरा वाल्स पनि उत्कृष्ट खेलाडीको सूचीमा परेका छन्। वर्ष २०२२ को उत्कृष्ट पुरुष र महिला प्रशिक्षक, उत्कृष्ट गोलकिपर पनि चयन हुनेछन्।

त्यस्तै २०२२ को उत्कृष्ट गोलको पनि मनोनयन सार्वजनिक भएको थियो। उक्त मनोनयनमा सार्वसाधारणको मत आगामी फेब्रुअरी ३ सम्मका लागि खुला गरिएको छ। प्रत्येक विधामा शीर्ष तीनलाई फाइनलिस्टमा समावेश गरिनेछ। त्यहाँबाट प्रत्येक देशका राष्ट्रिय प्रशिक्षक, कप्तान र पत्रकारको मतले विजेता चयन हुने प्रावधान छ।

प्रकाशित: ३० पुस २०७९ ०२:३२ शनिबार

किलियन एम्बाप्पे लियोनल मेसी