खेल

एक बाउट जित्ने निशाको आशा

काठमाडौं- ओलम्पिकमा नेपाली खेलाडीले सहभागिता जनाउँदा ठूलो आशा गरिने अवस्था छैन। नेपाली खेलाडीका लागि विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा सहभागिता नै मुख्य उपलब्धि हुने गर्छ। खेलाडीबाट आश गरिने मुख्य पक्षआफ्नै व्यक्तिगत प्रदर्शनमा सुधार हो।

पक्कै पनि प्रतिस्पर्धाको दृष्टिमा ओलम्पिक सबैभन्दा कठिन हो। तर खेलकुदमा नेपालको रुग्ण अवस्थाका कारण ठूलो आशा गरिन्न। त्यसैले दक्षिण एसियाली खेलकुद वा एसियाड खेल्नुभन्दा नेपाली खेलाडीका लागि ओलम्पिक सहज हुने गर्छ। नेपाली खेलाडीसामु ओलम्पिकको प्रतिस्पर्धा मञ्चमा दबाबविना आफूलाई प्रस्तुत गर्ने सुविधा हुन्छ।

तेक्वान्दोको अवस्था भने फरक छ। दबाबरहित भएर खेल्ने सुविधा अरु खेलको तुलनामा तेक्वान्दो खेलाडीलाई कम छ। ओलम्पिकमा नेपालका अहिलेसम्मका सबै सफलता यही खेलले दिलाएको छ। छनोट चरण पार गरेर ओलम्पिकमा नेपालको सहभागिता पक्का गर्ने खेल तेक्वान्दो नै हो। ओलम्पिकमा अहिलेसम्म नेपालले पदक जित्न सकेको छैन तर तेक्वान्दोको सफलता उल्लेख्य छ।

सन् १९८८ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ओलम्पिकमा तेक्वान्दोलाई प्रदर्शनी खेलमा समावेश गरिँदा विधान लामाले कांस्य पदक जितेका थिए। सन् २००४ मा ग्रिसमा भएको ओलम्पिकमा तेक्वान्दो स्टार संगीना वैद्यले जनाएको सहभागिता ऐतिहासिक थियो। कुनै पनि नेपाली खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा स्थान सुरक्षित गरेको त्यो पहिलो अवसर थियो। लगत्तै चार वर्षपछि चीनको बेइजिङमा सम्पन्न ओलम्पिकमा संगीनाको सफलतालाई तेक्वान्दोकै दीपक विष्टले निरन्तरता दिए।

ओलम्पिक हरेक खेलाडीको सपना हो। करिअरमा हरेक खेलाडीको लक्ष्य ओलम्पिक खेल्ने हुन्छ तर सबैको लक्ष्य पूरा हँुदैन। खेलकुदको महाकुम्भ ओलम्पिक खेल्ने सौभाग्य थोरैले मात्र पाउँछन्। त्यस्तै गौरवशाली मौका तेक्वान्दोबाट निशा रावलले पाएकी छन्। संगीना र दीपकजस्तो छनोट चरण पार गर्न नसके पनि निशाले रियो ओलम्पिकमा नेपाली तेक्वान्दोको प्रतिनिधित्व गर्दैछिन्।

रियो ओलम्पिकमा नेपालबाट पाँच खेलका ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। व्यक्तिगत प्रदर्शन सुधारको लक्ष्यमा अरु खेलाडी रहँदा निशासामु भने तेक्वान्दोकै विगतको नतिजामा सुधार गर्ने चुनौती छ। १२ वर्षअघि छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएकी नेपाली खेलकुदकी शिखर खेलाडी संगीनाकी चेली हुन्, निशा। यसअर्थमा निशाको लक्ष्य अरु नेपाली खेलाडीभन्दा फरक छ, उनले गुरुको सफलता उछिन्नुपर्नेछ। त्यसका लागि दुवै गुरु चेली लामो समयदेखि कडा मिहिनेत गरिरहेका छन्।

निशा घरेलु प्रतियोगितामा त्रिभुवन आर्मी क्लबबाट खेल्छिन्। राष्ट्रिय खेलकुद परिषदसँगै संगीना आर्मी टोलीकी प्रशिक्षक हुन्। उनले आर्मीको तेक्वान्दो टोलीलाई दैनिक प्रशिक्षण गराउने गर्छिन्। लगनखेलस्थित आर्मीको शारीरिक तथा प्रशिक्षण केन्द्रको तेक्वान्दो हलमा आर्मीका अन्य खेलाडीसँगै निशाले ओलम्पिकको अन्तिम तयारी गरिरहेकी छन्। हलको दोस्रो तलामा रहेको तेक्वान्दो हलमा निशाले पछिल्लो समय दैनिक ६ घन्टा प्रशिक्षण गर्ने गरेकी छन्।उनको तयारीमा आर्मीका अन्य खेलाडीले पनि सहयोग गरिरहेका छन्।

संगीना र क्लबका साथीको सहयोगमा अन्तिम तयारी गरिरहेकी निशाको लक्ष्य ओलम्पिकमा कम्तीमा एक बाउट जित्नु हो। जुन त्यति सहज छैन। यसअघिछनोट चरण पार गरेका दीपक र संगीनाले पनि ओलम्पिकमा एक बाउट जित्न सकेका थिएनन्।  

वाइल्ड कार्डमार्फत रियो जाने अवसर पाएकी निशा ओलम्पिक तयारीबाट भने सन्तुष्ट छैनन्। ओलम्पिकका लागि जुन हिसाबले तयारी गर्नुपर्ने हो त्यो हुन नसकेको उनले बताइन्।

एक महिना अघिबाट उनले संगीनासँग प्रशिक्षण लिन थालेकी हुन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको छात्रवृत्ति पाएर पनि वैदेशिक प्रशिक्षण गर्न नपाएको उनको गुनासो थियो। उनले भनिन्, 'ओलम्पिक हाम्रा लागि सर्वाधिक ठूलो प्रतियोगिता हो। यो अवसर सबैले पाउँदैनन्। अवसर पाएर पनि मैले राम्ररी तयारी गर्ने अवसर पाइनँ।'

प्रशिक्षक संगीनाबाट पाएको प्राविधिक र व्यावहारिक कुराले खेलमा सुधार गर्न सहयोगे गर्ने उनले बताइन्। निशाले भनिन्, 'गुरु(संगीना) ले प्रशिक्षणका क्रममा हौसला बढाइदिनुहुन्छ। उहाँको ओलम्पिक अनुभवबाट मैले आफ्नाकमजोरी सुधार गर्ने अवसर पाएकी छु।'

२० वर्षीया निशाले रियो ओलम्पिकमा ६३ केजीभन्दा माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नेछिन्। १२ वर्षकै उमेरमा नेपाल पुलिस स्कुल साँगाबाट तेक्वान्दो खेल्न सुरु गरेकी निशाले पाँचौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेकी थिइन्। निशा फाइनलमा पश्चिमाञ्चलकी रेगमाया गुरुङसँग हारेकी थिइन्।

पाँचौं राष्ट्रियको अनुभवले निखारिएकी निशा छैटौं राष्ट्रिय खेलकुदमा भने स्वर्ण पदक जित्न सफल भइन्।जुन राष्ट्रिय प्रतियोगितामा उनको पहिलो स्वर्ण थियो।पहिलो स्वर्ण जित्न उनलाई सहज भने भएन। निशाले अन्तिमसम्म रिङमा कडा प्रतिस्पर्धा गर्नुपरेको थियो। उनले फाइनलमा पुलिस क्लबकी राधिका श्रेष्ठलाई सडनडेथमा हराउँदै स्वर्णको खुसी मनाएकी थिइन्। छैटौंपछि निशाले तेक्वान्दो करिअरमा क्रमशः एकपछि अर्को सफलता प्राप्त गर्दै आएकी छन्।

काठमाडौंमा सन् २०१४ मा सम्पन्न माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियसिपमा स्वर्ण पदक जितिन्। जुन उनको अन्तर्राष्ट्रियमा पहिलो स्वर्ण थियो। निशाले यसै वर्ष हङकङमा भएको एसियन सिटी तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन। एक वर्षअघि दक्षिण कोरियामा भएको जेन्जो ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत जितेकी निशाका लागि १२औं दक्षिण एसियाली खेलकुद (साग) भने भाग्यशाली रहेन। निशाले खेल्ने तौल समूह नै थिएन। जसका कारण उनको साग खेल्ने लक्ष्य लम्बिएको छ। निशाले खेलेको अहिलेसम्मको ठूलो प्रतियोगिता इन्चोन एसियन खेलकुद हो। जहाँ उनले जित्न भने सकिनन्।

करिब पाँच महिनाअघि बायाँ खुट्टाको ह्यामस्ट्रिङसँग संघर्ष गर्दै निशा प्रशिक्षणमा फर्किएकी थिइन्। खेलमा फर्किएपनि आफ्नो क्षमताबढाउन हरेक दिन कठिन मिहिनेत गरिरहेको उनले सुनाइन्।

प्रशिक्षक संगीनाका अनुसार स्पिड र अट्याकमा निशाले मिहिनेत गर्न जरुरी छ। उनले भनिन्, 'व्यक्तिगत रूपमा उनले मिहिनेत गरिरहेकी छिन्। काउन्टर किक उसको राम्रो छ। उसले आत्मविश्वास साथ खेले विगतभन्दा राम्रो नतिजा निकाल्न सक्छिन्।'

ओलम्पिक जस्तो प्रतियोगिता खेल्न नेपाली खेलाडीका लागि सहज नभएको प्रशिक्षक संगीनाको अनुभव छ। उनले भनिन्, 'हामी कुन प्रतियोगिता खेल्न गइरहेको छ। त्यहीअनुरुपतयारी गर्न जरुरी हुन्छ। खेलाडीको राम्रो प्रदर्शन र सफलतामा व्यवस्थापन, खेलाडीको आत्मविश्वास र अनुभवले धेरै फरक पार्छ।'

ओलम्पिकमा नेपाली खेलाडीले दबाबबिना आफ्नो स्वाभाविक खेल खेल्ने कोसिस गर्नुपर्ने उनको बुझाइ छ। उनले भनिन्, 'अहिलेको अवस्थामा हाम्रा खेलाडीले ओलम्पिकमा पदक जित्न सक्दैनन्। तर उनीहरूले आत्मविश्वाससाथ आफ्नो खेल खेले केही राम्रो नतिजा आउन सक्छ। त्यसका लागि खेलाडी मानसिक रूपमा बलियो हुनुपर्छ।'

प्रकाशित: २१ श्रावण २०७३ ०४:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App