खेल

शुक्रको टिम बन्यो प्रो–एम विजेता

प्रो एम प्रतिस्पर्धाका विजेता खेलाडीहरुसँग तस्बिर खिचाउदै अतिथिहरु। तस्बिर: रोहित राई

सुर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो एम प्रतिस्पर्धामा व्यवसायिक खेलाडी शुक्रबहादुर राईको टिम विजेता भएको छ। 

पार ७० को गल्फ कोर्षमा शुक्रबार आयोजित प्रतिस्पर्धामा कुल १७१ स्कोरका साथ शुक्रको टिम विजेता भएको हो। नेपालकै नम्बर वान गल्फर शुक्रले ४० स्कोर खेलेका थिए भने उनको टिमका एमेच्योर खेलाडीहरु काजी ताप्मादेनले ४७, पुर्वमन्त्री कर्णबहादुर थापाले ४३ र कवि थापाले ४१ स्कोर खेलेका थिए।

यस्तै, व्यवसायिक खेलाडी सविन सापकोटाको टिम १५३ स्कोरका साथ दोस्रो भएको छ। उनले ३७ स्कोर गरेका थिए। उनको टिमका एमेच्योर खेलाडीहरु अर्जुन सुनुवारले ३९, नेपाल प्रहरीका एसपी भिम दाहालले ३९ र गजेन्द्र लिम्बुले ३८ स्कोर गरेका थिए।

यसैगरि, व्यवसायिक खेलाडी सञ्जय लामाको टिम १५१ स्कोरका साथ तेस्रो भयो। सञ्जयले ३७ स्कोर खेल्दा उनको टिमका एमेच्योर खेलाडीहरु सुयस प्याकुरेल ३८, भरत तामाङले ३८ र रविन राईले ३८ स्कोर गरेका थिए। प्रतिस्पर्धामा ३८ स्कोर खेलेकी सुमित्रा लिम्बुले महिलातर्फको वेष्ट स्कोर पुरस्कार पाइन्। यस्तै, प्रतियोगिताको लङ्गेष्ट ड्राइभको पुरस्कार बद्री राईले जिते भने राजेश राईले क्लोजेष्ट टु दि पिनको पुरस्कार जिते।

विजेता खेलाडीहरुलाई आयोजक नेपाल प्रोफेस्नल गल्फर्स एशोसिएशनका अध्यक्ष रविन्द्रमानश्रेष्ठ, धरान गल्फ क्लबका कार्यसमिति सदस्य जगमोहन राईलगायतले पुरस्कार वितरण गरेका थिए।

चार दिने प्रतियोगिताको मुख्य प्रतियोगिता इष्टर्न ओपन भने बिहिबार नै सम्पन्न भइसकेको थियो। प्रतियोगितामा नम्बर वान गल्फर शुक्रबहादुर राईले धरानको गल्फ कोर्षमा १७ अण्डरको रेकर्ड बनाउदै च्याम्पियन बनेका थिए। उनले नगद १ लाख ४० हजार पुरस्कार पनि जितेका थिए।  

प्रकाशित: १५ पुस २०७९ १३:१५ शुक्रबार

प्रो एम प्रतिस्पर्धा