खेल

एपिएफ र डायमन्ड सेमिफाइनलमा भिड्ने

काठमाडौं- साविक विजेता एपिएफले यति फ्लोरिङ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा मंगलबार साविक उपविजेता न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ। गत वर्ष जावलाखेलमा प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा एपिएफले डायमन्डलाई सोझो सेटमा हराएको थियो। मंगलबारको सेमिफाइनल गतवर्षको फाइनलको रिप्लेका रुपमा हुनेछ।

एपिएफले सोमबार दोहोरो जित हासिल गर्दै समुह 'ए' बाट विजेताका रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा अर्को समुह 'बी' बाट पुलिस विजेता बन्दै अन्तिम चारमा पुग्यो। पुलिसले अर्को सेमिफाइनलमा समुह 'ए' को उपविजेता पश्चिमाञ्चलसँग खेल्नेछ।

सेमिफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा एपिएफले सोमबार पश्चिमाञ्चल र जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमाथि सोझो सेटमा विजय हासिल गरेको थियो। पहिलो खेलमा मञ्जु गुरुङको कप्तानीमा रहेको पश्चिमाञ्चलाई २५–८,२५–१६, २५–१५ ले हराएको विभागीय टोलीले सोमबारकै अर्को खेलमा जाउलाखेलमाथि २५–१४, २५–५, २५–४ को सहज नतिजा निकाल्यो।

पुलिसले सोमबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–२२,  २५–१५  ले हरायो।

प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले डायमन्डलाई ३–२ को सेटमा पराजित गरेको थियो। पहिलो खेलमै हार सामना गरेको डायमन्डले आर्मीलाई सोझो सेटमा ३–० ले हराएपछि समुह 'बी' बाट उपविजेताका रुपमा सेमिफाइलनमा स्थान पक्का गरेको थियो। त्यस्तै पश्चिमाञ्चलले जावलाखेललाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो। शेरबहादुर खड्का स्मृती प्रतिष्ठानले गरिरहेको प्रतियोगिताको फाइनल बुधबार हुनेछ।   

प्रकाशित: १४ असार २०७३ ०३:२० मंगलबार

एपिएफ डायमन्ड सेमिफाइनलमा भिड्ने