खेल

आफ्नै प्रदर्शनमा चिन्तित फ्रान्सेली खेलाडी

पेरिस- प्रत्येक खेलमा राम्रो सुरुआत गर्न नसके पनि आयोजक फ्रान्स आइतबार आयरल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुगेको छ। पहिलो हाफमा कमजोर सुरुआत, मध्यान्तरपछि गोल गर्दै जित निकाल्नु जारी प्रतियोगितामा फ्रान्सको विशेषता बन्दै आएको छ। तर, फ्रान्सका खेलाडीले सधै भाग्यको साथ नपाउन सकिने थाहा पाइसकेका छन्। नतिजाका लागि अन्तिम मिनेटसम्म कुर्नु घातक हुन सक्छ भन्ने बुझेका फ्रान्सेली खेलाडी आफ्नो गतीलाई बढाउनेतिर केन्द्रित भएका छन्।

टोलीका लागि आइतबार पनि पहिलो हाफ सुखद हुन सकेन। फ्रान्सका पाउल पोग्बाले आयरल्यान्डका शेन लङलाई फाउल गरेपछि पाएको पेनाल्टीमा रोबी ब्राडेले कुनै गल्ति गरेनन्।

मध्यान्तरपछि रणनीतिक परिवर्तनका साथ उत्रिएको फ्रान्सले एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरौडको साथमा आक्रमण बुन्न थाल्यो। त्यसमा किङस्ले कोम्यानको आगमनले थप गति दिएको थियो।

‘यही खराब स्थितीबाट उठ्न हामी प्रतिबद्ध भयौं र खेल जित्दै मुस्कुराउने परिस्थिती बन्यो,’ आयरल्यान्डविरुद्ध २ गोल गरेका ग्रिजम्यानले भने, ‘हाम्रो सुरुआती क्षण धेरै दुखद थियो। त्यसमा हामीले सुधार गर्नु आवश्यक छ। यस्तै अवस्थाबाट सधै माथि उठन सकिँदैन।’

कहिल्यै चिन्तित नदेखिने दिमित्री पायेटले पनि सुरुमै आक्रमक हुनुपर्ने बताए। ‘हामीले दोस्रो हाफमा मात्र पुनरागमन गरेका छौं। यसमा सुधार गर्नु आवस्यक छ,’ पायेटले भने।

ड्रेसिङ रुममा खेलाडीले लज्जास्पद अनुभव बाँढेपछि फ्रान्सले दोस्रो हाफको १३औं मिनेटमा बराबरी गरेको थियो। बाकारी सांगाको क्रसमा ग्रिजम्यानले हेडबाट गोल गरेका थिए।

‘हामी निराश थियौं र रिस पनि उठिरहेको थियो,’ प्याटि्रस इभ्राले भने, ‘तर हामीले पहिलो हाफ केही गर्न सकेनौं। दोस्रो हाफमा हामीले आफ्नो जिम्मेवारी महशुस गर्‍यौं।’

त्यसअघि फ्रान्सले रोमानियालाई २–१ पराजित गर्दा पनि पहिलो हाफ राम्रो खेल्न सकेको थिएन। पायेटले खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गरेपछि फ्रान्सले नतिजा हात पारेको थियो।

त्यसपछि अल्बानियालाई २–० ले हराउँदा पनि फ्रान्सले गोलका लागि अन्तिम समयसम्म कुर्नुपर्‍यो।

प्रकाशित: १४ असार २०७३ ०३:१६ मंगलबार

आफ्नै प्रदर्शनमा चिन्तित फ्रान्सेली खेलाडी