खेल

'ह्यान्डबल'को चर्चाबीच फ्रान्स र आइरिस

लियोन- आयरल्यान्ड र फ्रान्सको दुवै क्याम्पमा यतिबेला थिएरी अनरीले गरेको ह्यान्डबलले चर्चा पाइरहेको छ। तर, आयरल्यान्डका समर्थकहरू आइतबार युरोपियन च्याम्पियनसिपअन्तर्गत अन्तिम १६ को खेलमा आफ्नो टोलीले बदला लिने आशामा छन्।

सन् २००९ नोभेम्बर १८ मा पेरिसको स्टेड डे फ्रान्स रंगशालामा हेनरीले हातले रोकेर दिएको पासमा विलियम गालासले गोल गरेका थिए। त्यही गोल मद्दतमा फ्रान्सले आयरल्यान्डलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप २०१० मा स्थान बनाएको थियो। त्यो रात खेलेका केही खेलाडी अहिले पनि दुवै टोलीमा यथावत छन्।

फ्रान्सका गोलकिपर ह्युगो लोरिस, रक्षक बार्से सांगा र प्याटि्रक इभ्रा, फरवार्ड आन्द्रे पिइरे जिगनक र गोलकिपर स्टेभ मन्डला (वैकल्पिक) त्यतिबेला पनि टोलीमा थिए। आयरल्यान्डका शे गिभन, जोन ओ‘शाह, ग्लेन हेलन, रोबी केन र एडिन म्याकगेडी त्यतिबेला टोलीमा रहेका खेलाडी हुन्।

दुवै टोलीले त्यो घटनाले आइतबार लियोनमा हुने खेलमा पनि केही असर नगर्ने बताएका छन्।

‘यसबीच नदीमा धेरै पानी बगिसकेको छ,’ फ्रान्सका सहायक प्रशिक्षक गुए स्टेफनले भने, ‘पक्कै पनि यस विषयमा हाम्रो छलफल हुन्छ तर मलाई लाग्दैन कि यसले खेलमा असर पार्छ।’

आयरल्यान्डका प्रशिक्षक मार्टिन ओ‘निलले स्टेफनकै धारमा कुरा राखे। तर उनले ‘ग्रिन आर्मी’ नामले प्रसिद्ध समर्थकहरू त्यसको बदला हेर्न चाहेको बताए।

‘मलाई लाग्छ हामीले यो बिर्सनुपर्छ,’ ओ’निलले भने, ‘यो एउटा बहसको विषय हुनसक्छ तर खेलमा यसले कुनै असर गर्दैन।’

आयरल्यान्डलाई खेलाडीको चोटले पिरोलेको छ। सेन्टरब्याक स्टेफन वार्डको कुर्कुच्चामा चोट लागको छ। उनी शुक्रबार इटालीलाई १–० ले पराजित गर्दाघाइते भएका हुन्। जोन वाल्टरको पनि पिडौलामा चोट लागेको छ। तर, उनी पहिलो रोजाइमा पर्दैनन्।

इटालीविरुद्ध अन्तिम मिनेटमा हेडमार्फत गोल गरेका रोबर्ट ब्राडेले आफूलाई महान रूपमा प्रस्तुत गरेका छन्। ‘हामी जहाँ आइपुगेका छौं यो ऐतिहासिक क्षणको एक हिस्सा बन्न पाउँदा म गौरवान्वित छु,’ नर्विच सिटीका २४ वर्षे मिडफिल्डर ब्राडेले भने।

आयरल्यान्डका सहायक प्रशिक्षक रोए किनले इटालीलाई राम्रो प्रदर्शन गरेको भए आयोजकविरुद्ध पनि राम्रो खेल्नुपर्ने बताए।‘यदि उनीहरूले राम्रो खेलेका थिए भने अरु कुनै दिन खेल्नुपर्छ,’ म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक किनले भने, ‘हामी त्यहाँ भिड्नका लागि हुनेछौं। हामीलाई बल खोस्न सक्ने खेलाडी आवश्यक छ।यसमा सजक हुनु जरुरी छ। हामी खेल्न तयार छौं।’

प्रकाशित: १२ असार २०७३ ०२:५९ आइतबार

ह्यान्डबलको चर्चाबीच फ्रान्स आइरिस