खेल

धरान सहज सेमिफाइनलमा

पोखरा-पाहुना टोली भारत उडिसाको फाओ एकेडेमीमाथि सहज जित निकाल्दै धरान फुटबल क्लब पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
धरानले मंगलबार फाओ एकेडेमीलाई ३–० ले पराजित गरेको हो।

सुरुदेखि नै पाहुना टोलीलाई दबाबमा राखेको धरानले गोलका लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो।

खेलको ५९ औं मिनेटमा तीर्थ बस्नेतले गोल गरेर टोलीलाई अग्रता दिलाए। मिलन राईले दिएको पासमा तीर्थले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७५ औंमिनेटमा लक्ष्मण रुचालले गोल थप्दै अन्तर दोब्बर पारे । वर्तमान राईको पासमा लक्ष्मणले डी एरियाबाट हानेको बलसिधैँ गोलमा परिणत गरेका थिए । खेलको ८४ औं मिनेटमा जिम्मीले धरानका लागि तेस्रो गोल गरेर अन्तर फराकिलो बनाए । हेमन्त थापामगरको ब्याकपासमा जिम्मीले गोल गरेका हुन् ।

मंगलबारवर्तमान राई म्यान अफ दी म्याच भए ।

विजयी धरानले अब त्रिभुवन आर्मीसँग खेल्नेछ ।

सुरुमै धरानले अग्रता लिने मौका पाए पनि उपयोग गर्न सकेन । खेलको १६ औं मिनेटमा लक्ष्मण रुचालले करिब ३० यार्डबाट हानेको बल आकासिँदा अवसर गुम्न पुग्यो । ४९ औं मिनेटमा वर्तमानले डी बक्सबाट हानेको बल फाओ एकेडेमीका गोलरक्षक सौमिया दासले बचाए ।

विजेता धरानका प्रशिक्षक सुवास केसीले उच्च प्रदर्शनबाट विजय सहज भएको बताए । पहिलोपल्ट खेल्न फाओलाई पराजित गर्न बढी मिहिनेत गर्नु नपरेको उनको तर्क थियो ।

पोखरा कपमा धरानको यो दोस्रो सहभागिता हो । गतवर्ष सशस्त्र प्रहरीको एपिएफलाई धरानले २–१ ले पराजित गरेको थियो । पोखरामा धरानको आमीसँग यो दोस्रो भेट हो ।

दुईवर्षअघि आहा–रारा कपमा धरानले आर्मीलाई २–० ले पराजित गरेको थियो । 'दुई वर्षअघि हामीले आर्मीलाई पराजित गरेका थियौं । यसपल्ट फेरि त्यही टिमसँग भेट भएको छ । आशा छ, यसपल्ट फेरि पनि आर्मीसँग हाम्रो खेल प्रतिस्पर्धात्मक नै हुनेछ,' उनले भने ।

फाओ एकेडेमीले मंगलबार धेरै अवसर निकाल्न सकेन । सीमित अवसर पनि उपयोग गर्न नसक्दा पहिलो खेलमै पराजित हुनुप¥यो । पहिलो हाफमा भन्दा दोस्रो हाफमा थप कमजोर प्रदर्शन हुँदा धरान टोली हाबी भयो । २८ औं मिनेटमा फाओका शशिकान्त सेन्डिलको प्रहार धरानका गोलरक्षक विनय श्रेष्ठले बचाउ गरेका थिए ।

फाओ एकेडेमीमा प्रशिक्षक एसके मञ्जुरले पोखरामा पहिलोपल्ट खेल्न आएकोमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सन्तुष्टि जनाए ।

उनका अनुसार टिममा १८ देखि २० वर्ष उमेरका खेलाडी छन् । 'जुनियर खेलाडीले उत्कृष्ट खेले । धरानको टोली निकै राम्रो हो । उनीहरूले उच्चस्तरको फुटबल खेलेको छ,' उनले भने, 'राम्रो खेल्नेमा म विश्वस्त थिएँ । खेलाडीले सकेसम्म मिहिनेत गरेका हुन् ।'

बुधबार लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र एपिएफबीच खेल हुनेछ।

प्रकाशित: ८ वैशाख २०७३ ०२:५० बुधबार

धरान सहज सेमिफाइनलमा