फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकस्थित शुक्रबारे बजारमा वर्षाैंदेखि थुप्रिएको फोहोर व्यवस्थापन थालिएको छ। गाउँपालिकाले फोहोर विसर्जनका लागि जमिन व्यवस्थापन गरेपछि बजार सरसफाइ थालिएको हो।
जनप्रतिनिधिसहितको टोलीले यो बजारमा वर्षाैंयता यत्रतत्र रहेको फोहोर सरसफाइ गरेको छ भने अब नियम नै बनाएर यसको दिगो व्यवस्थापन गरिने भएको छ। व्यवस्थापनको उपाय नहुँदा बजारका होटल र पसलबाहिर फोहोरको रास लागेको थियो।
व्यवसायीले बोरा र ड्रमहरूमा लामो समयदेखि थुपारेको फोहोर अब व्यवस्थापनको टुंगो लागेको व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण लामिछानेले बताए। ‘यो बजारको फोहोर व्यवस्थापन गर्न हामीले पटक–पटक गाउँपालिकालाई ज्ञापनपत्र बुझायौं तर सुनुवाई भएको थिएन,’ उनले भने, ‘अस्ति वैशाखमा नयाँ जनप्रतिनिधि आएयता यहाँको फोहोर व्यवस्थापनमा उहाँहरूले ध्यान दिनुभयो त्यसपछि काम सुरु भयो।’
गाउँपालिकाको भर्खरै बसेको कार्यपालिका बैठकले यहाँको फोहोर विसर्जन गर्न डम्पिङ साइट व्यवस्थापन गरेको हो। ‘वर्षाैंयता रास लागेको फोहोर अब सफा हुने भएपछि बजारबासी हर्षित छन्, उनीहरूले सहयोग पनि गरेका छन्,’ लामिछानेले भने, ‘अब व्यवस्थापनको नियम नै बनाएर यो काम दिगो बनाउन गाउँपालिकालाई सुझाव दिएका छौं।’
शुक्रबारे बजार रहेको फाकफोकथुम वडा ३ का अध्यक्ष दीपेन्द्र लिम्बूले यहाँको फोहोर समस्या जटिल रहेका बेला समाधानको उपाय भेटिएको बताए। उनले गाउँपालिकामा फोहोर व्यवस्थापनको कार्ययोजना नै नभएका बेला भर्खरैको कार्यपालिका बैठकले योजना बनाएको बताए। ‘बोतल, प्लास्टिक र अन्य कुहिने–नकुहिने फोहोरले बजार दुर्गन्धित भइसकेको थियो,’ उनले भने, ‘अब भने त्यो समस्या हुने छैन।’
यहाँको फोहोर करिब ५ किलोमिटरमा रहेको जमिनमा विसर्जन गरिने भएको छ। स्थानीय नस्वाखोला भन्ने ठाउँको जंगलमा जमानसिंह, रेवत र कमल पौडेलले जमिन निःशुल्क दिएपछि फोहोर व्यवस्थापन गर्न सकिने भएको वडाध्यक्ष लिम्बूले बताए। ‘दाताले फोहोर व्यवस्थापनका लागि २ रोपनी जमिन दिनुभएको छ,’ उनले भने, ‘जमिन गाउँपालिकाको नाममा आउन बाँकी नै रहेपनि फोहोर व्यवस्थापन सुरु भइसकेको छ।’
उनले निरन्तर रूपमा महिनाको कम्तीमा २/३ पटक बजार सफाइ गर्ने बताए। ‘यसअघि पनि गाउँपालिकाले फोहोर संकलनका लागि डस्टबिन त वितरण गरेको रहेछ तर डस्टबिनमा संकलित फोहोर कहाँ विसर्जन गर्ने भन्ने उपाय थिएन,’ उनले भने, ‘अब यहाँको मात्र होइन, पालिकाका अरू बजारको फोहोर पनि यहाँ विसर्जन गर्न सकिने भएको छ। बजारबासी पनि फोहोर व्यवस्थापन हुने भएपछि उत्साही छन्।’
पालिकाले पनि निकै समस्याका रूपमा रहेको शुक्रबारे बजारको फोहोर व्यवस्थापन हुनु उपलिब्धिमूलक भएको बताएको छ। उपाध्यक्ष कल्पना राईले गाउँ कार्यपालिका बैठकले फोहोर व्यवस्थापनका लागि जमिन भेटेको र बजार सरसफाइमा सघाएको बताइन्। ‘शुक्रबारेमात्र होइन, पुरानो पञ्चमीलगायत अन्य बजारको फोहोर व्यवस्थापनका लागि गाउँपालिकाले बजेट नै छुट्याएको छ,’ उनले भनिन्, ‘फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदूषण र खानेपानीसमेत दूषित हुने जोखिम बढेपछि फोहोर विसर्जन थालिएको हो।’ उनले आवश्यक परे कार्यविधि नै बनाएर गाउँपालिकाले स्थानीय बजारहरूको फोहोर व्यवस्थापन गर्ने बताइन्।
खानेपानी व्यवस्थापन गरिँदै
शुक्रबारे बजारमा खानेपानी अभाव मुख्य समस्याका रूपमा छ। यहाँका सयौं उपभोक्ता १–२ किलोमिटर टाढाबाट बिहान–बेलुका पानी ओसार्न बाध्य छन्।
नजिकै मुहान नहुँदा पानी अभाव भएको छ। टाढा रहेका मुहानबाट पानी ल्याउन बजेट र योजना नभएकाले समस्या भएपनि अब भने यहाँको पानी अभाव टर्ने आशा उपभोक्ताले गरेका छन्। बजार व्यवस्थापन समिति अध्यक्ष लामिछानेले बजारमा अहिले खानेपानीको चरम अभाव रहेको बताए। ‘हामीले पटक–पटक पानी अभाव छ भनेर जनप्रतिनिधिलाई भन्यौं तर सहयोग भएन,’ उनले भने, ‘अब चाहिँ पानीको योजना आउँछ कि भन्ने आशा पलाएको छ।’
वडा ३ का अध्यक्ष लिम्बूले शुक्रबारे बजारमात्र नभइ आमचोकका साविक वडा १ र वडा ३ का लागि स्थानीय नस्वागौडे खोलाबाट पानी ल्याइने भएको बताए। वडा ४ र ६ का लागि लुखरुम्बा खोलाबाट पानी ल्याइने उनको भनाइ छ। वडा ४ र ५ को माथिल्लो भेगका लागि भने पुरानै नस्वागौडे योजनालाई निरन्तरताका लागि गाउँपालिकाले समन्वय गर्ने वडाध्यक्ष लिम्बूले बताए।
प्रकाशित: २१ कार्तिक २०७९ ०९:२६ सोमबार