समाज

म्याग्दी बालगृहका बालबालिकाले लगाए सामूहिक भाइटीका

तिहारलाई दिदीभाइ तथा दाजुबहिनीबीच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ। भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ।

त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी दाजुभाइहरु जमघट हुने कोसिस गर्दछन्। तर, अभिभावकलाई कलिलै उमेरमा छोडेर गएका बालबालिकाको घरमा दिदीबहिनी समेत छैनन्। साहराविहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटीका लगाउने गरेका छन्।

दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टीका लगाउने, आशिष थाप्ने, विशेष गरी ठूला र सानाबीचको प्रेम र आत्मीयता बढाउने नेपाल बाल संगठनद्वारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबालबालिका अग्रसर छन्। दशैंतिहार जस्ता ठूला पर्वमा परिवार र आफन्तको सम्झना नहोस् भनेर बालगृहका बालबालिकालाई सामूहिक टीका र मिठो खुलाउने गरिन्छ। यसवर्षको भाइटीकामा पनि बालगृहका बालबालिकाले सामूहिक टीका लगाए।

बालगृहभित्र हँसिलो  अनुहारमा टीका थाप्दै गरेका बालबालिकाले एउटा ठूलो परिवारभित्रको बसाइ निकै सुखमय रहेको बताएका थिए। बाल संगठनका अध्यक्ष राजेश शाक्य, मोना हङकङका अध्यक्ष कर्ण पुन मगर लगायतको उपस्थितीमा बालबालिकाले टीका ग्रहण गरेका थिए। १२ जना बालबालिका आश्रीत रहेको बालगृहमा चाडपर्वमा नयाँ लुगा, मिठो खानेकुरा नियमित खानपिन भन्दा फरक गरिने अध्यक्ष शाक्यले बताए।

‘मेरो कार्यकाल सुरु हुँदैछ, ‘मैले आफ्नो तर्फबाट सक्दो प्रयास गर्छु, यहाँ अझै धेरै बालबालिकाको प्रवेश हुन्छ’ शाक्यले भने। उनले बालगृहमा रहेका बालबालिकाहरु बीचको सम्बन्ध दाजुभाइ, दिदीबहिनी जस्तै भएकाले सबैले सामूहिक टीका लगाउने गरेको बताए। चाडपर्वसहित अन्य समयमा समेत पारिवारिक वातावरण भएकाले बालबालिका समेत निकै उत्साहित छन्।

प्रकाशित: १० कार्तिक २०७९ ०८:२३ बिहीबार

साहराविहीन बालबालिका बालगृह