समाज

कर्णालीका चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

फाइल तस्बिर

सरकारले कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाई सम्भावित जोखिमबाट हुने क्षति न्यूनीकरण गरी जनधनको थप नोक्सानी हुन नदिन संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

यसैगरी कालिकोटमा बाढीपहिरोमा परेकामध्ये १६ जना अझै बेपत्ता रहेका छन्। २३ जना बेपत्तामध्ये सातजनाको शव भेटिएको छ। आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका ध्रुवराज विष्ट र उनकी छोरी तथा मलाम गएका १३ मध्ये धनबहादुर शाहीको शव प्रहरीले शनिबार फेला पारेको हो।

विष्ट परिवारका पाँचजना पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र शुक्रबार उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए।

‘विष्ट परिवारका चारजनाको शव भेटिएको छ’, उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म सातजनाको मात्र शव भेटिएको छ। तिलागुफा नगरपालिका– ४ राँचुली गाउँका मलामी गएका १३ जनामध्ये एकजना धनबहादुर शाहीको शव फेला परेको छ।’ प्रहरीका अनुसार अन्य १६ जनाको खोजी कार्य जारी रहेको छ।

कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसले कर्णालीमा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कर्णालीका सुर्खेतबाहेक नौ जिल्लामा बाढीपहिरोबाट मृत्यु भएका ३६ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी र घाइतेको उपचार व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेको छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काका अनुसार कार्यसम्पादन समितिको बैठकले प्राकृतिक विपत्तिको संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत र उचित आर्थिक सहायताका लागि तीनै तहका सरकारसँग आग्रह गरेको हो।

प्रकाशित: ३० आश्विन २०७९ ०१:५० आइतबार

कर्णाली प्रदेश