समाज

पश्चिम तराईमा अविरल वर्षाका कारण जनजीवन प्रभावित

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ।

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो। वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो। गत मंगलबार साँझदेखि परेको अविरल वर्षाले गर्दा  नेपालीहरुको महान पर्व बडा दशैं पनि राम्रोसँग मनाउन नसकेको स्थानीयहरु बताउँछन्। देशभर नै चाड पर्वको समयमा आफन्त,इष्टमित्र,मान्यजनको हातको टीका थाप्न र आर्शिवाद लिन वर्षाका कारण कठिनाइ भएको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदलि रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण देशभरका विभिन्न सडकहरु अवरुद्ध हुँदा दशैं मनाउन गाउँ गएकाहरु शहर फर्किन पाएका छैनन् भने गाउँमै दशैंको टीका ग्रहण गर्न पनि आफन्तहरुकोमा जान सकेका छैनन्।

प्रकाशित: २१ आश्विन २०७९ १०:४६ शुक्रबार

वर्षा