समाज

अविरल वर्षाः बाढी र डुबानको जोखिम

फाइल तस्बिर।

सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाको कारण बाढी र डुबानको जोखिम देखिएको छ।

कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधर लगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ।

विभागको कञ्चनपुर शान्तिपुर बेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घण्टामा १२५ मिमी, छ घण्टामा ८३ दशमलव ८ र तीन घण्टामा ६२ दशमलब २ मिमी वर्षाको मापन भएको छ।

कार्यालयका प्रमुख सञ्जय साहले भने, ‘आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ।’

यो महिनाको अन्तिमसम्ममा वर्षा हुने अनुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली काट्न अझै एक हप्ता पर्खिन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: २१ आश्विन २०७९ ०६:५८ शुक्रबार

अविरल वर्षा बाढी र डुबानको जोखिम