थाइल्यान्डमा बसेर लागुऔषध एमफेटामाइनलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आइरहेका धर्मलाई नेपालमा बसेर तस्करीमा सघाउ गर्दै आएका पूर्णबहादुर धादिङ र नुवाकोटका विभिन्न स्थानमा लुक्दै आइरहेका थिए।
ब्युरोका डिआइजी जयबहादुर चन्दका अनुसार पक्राउ परेका पूर्णबहादुर थाइल्यान्डमा रहेका दाजुलाई नेपालबाट लागुऔषध तस्करीमा सघाउने मुख्य व्यक्ति हुन्। प्रहरीले उनीसँगै फेला पारेको ५० लाख रुपैयाँ प्रहरीमा परेको मुद्दा मिलाइदिनका लागि तयार पारिएको 'घुस' बापतको रकम रहेको समेत पत्ता लागेको छ। उक्त रकममध्ये ४९ लाख रुपैयाँ नगद र एक लाख रुपैयाँ भने एक वित्तीय संस्थामा रहेको थियो।
'पूर्णबहादुरले केही समयअघि आफ्ना साथीहरु पक्राउ परेपछि आफू जोगिनका लागि एक जना नजिकका साथीलाई आफ्नो केस प्रहरीमा परेको र मिलाइदिनका लागि मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गर्दै ५० लाख रुपैयाँ दिएका थिए,' डिआइजी चन्दले भने, 'आफ्नो मुद्दा मिलाउन मुद्दाका सम्बद्ध पक्षलाई उक्त रकम दिन पूर्णबहादुरले प्रयोग गरेका व्यक्तिलाई सुरक्षाका कारणले हामीले सार्वजनिक गरेका छैनौं।' उनले मोबाइल फोनको कल रेकर्डअनुसार ती मध्यस्थकर्तालाई पक्रेर अनुसन्धान अगाडि बढाएको जानकारी दिए।
गत चैत ३० गते काठमाडौंबाट नेत्र गुरुङ र चित्र तामाङ ३ सय २ ग्राम एम्फेटामाइनसहित पक्राउ परेपछि प्रहरीले पूर्णबहादुरका बारेमा अनुसन्धान अगाडि बढाएको हो। 'अप्रेसन आइस' नाम दिइएको उक्त अनुसन्धान टोलीले पूर्णबहादुरलाई पक्रन सफल भएको चन्दले बताए।
काठमाडौंको त्रिभुवन विमानस्थल प्रवेशद्वार (गोल्डन गेट) र टोखाबाट लागुऔषधसहित पक्राउ परेका नेत्र र चित्रबाट धर्म र पूर्णको पोल खुलेको हो। पूर्णले नेपालमा बसेर धादिङ, मकवानपुर, बारा जिल्लामा नेपाली नागरिकलाई अवैध कारोबारमा आर्थिक प्रलोभन दिई थाइल्यान्ड पठाई लागुऔषध ओसारपसार गराउँदै आएका थिए।
डिआइजी चन्दका अनुसार सन् २००३ मा स्पेन जान भनी हिँडेका पूर्ण बैंकक गएका थिए। उनी बैंककमा थाई केटी नुसारा नाम गरेकी केटीसँग बस्थे। सुरुमा थाइल्यान्ड गएका पूर्णबहादुर दुई महिनाको भिसा सकिएपछि पुनः नेपाल फर्केका थिए। तर, सन् २००३ मा थाई केटीले बोलाएपछि उनी पुनः थाइल्यान्ड गएका थिए। थाइल्यान्डमा उनले थाई केटीसँग मिलेर किराना पसल सञ्चालन गरेका थिए। त्यसक्रममा उनीहरुको बच्चा सन् २००४ मा जन्मेको थियो। बच्चा भएपछि उनीहरु नियमित नेपाल आउजाउ गर्ने गरेको अनुसन्धान क्रममा फेला परेको चन्दले जानकारी दिए।
थाइल्यान्डमै रहेको समयमा पूर्णबहादुरलाई थाई प्रहरीले लागुऔषध सेवन गरेको अभियोगमा सन् २००९ मा पक्रेको थियो। त्यतिबेला उनी ३ महिना जेलमा परी २० हजार भाट जरिवाना तिरेका थिए। थाई जेलबाट छुटेपछि नेपाल आएका पूर्णबहादुरले नेपालमा नै बसेर धर्मलाई तस्करीमा सघाउन थालेको अनुसन्धान क्रममा फेला परेको चन्दले बताए।
'नेपालमा पूर्णबहादुर र उनीसँग संलग्न रहेका अन्य व्यक्ति पक्राउ गरेपछि थाइल्यान्डमा धर्म सम्पर्कविहीन छन्,' चन्दले भने, 'हामीले धर्मको विषयमा जानकारी थाई प्रहरीलाई दिइसकेकाले थाई प्रहरीले धर्मको खोजी सुरु गरिसकेको छ।' 'एमफेटामिन' लाई थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, अस्ट्रेलिया, नेपाल लगायत देशमा पुर्याौउने धर्म अस्ट्रेलियाली प्रहरीको मस्ट वान्टेड सूचीमा समेत छन्।
सन् २०१६, जनवरीमा अस्ट्रेलियाको ब्रिसबनमा घर सजावट सामग्रीको बाकसमा २७ करोड रुपैयाँबराबरको ५४ किलो एमफेटामिन प्रहरीले फेला पारेको थियो। अस्ट्रेलियन प्रहरीले अस्ट्रेलियन नागरिक रेमन्ड जोन र नेपाली नागरिक भूपेन्द्र तामाङ पक्राउ गरेपछि त्यसको जानकारी नेपालस्थित लागुऔषध नियन्त्रण ब्युरोमा आएको थियो। रेमन्ड र तामाङको जानकारीका आधारमा ब्युरोले नेपालमा मनीष श्रेष्ठ, विक्रम लामिछाने, होमबहादुर तामाङलाई पक्रेको थियो।
अनुसन्धानमा उनीहरुले भूकम्पमा सघाउन नेपाल आएका अस्ट्रेलियन नागरिक रेमन्डको नाम र ठेगाना बैंककमा रहेका धर्म पाखि्रनलाई दिएको अन्य थाहा नभएको बयानपछि प्रहरीले तीन जनालाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइरहेकै बेला त्रिभुवन विमानस्थल प्रवेशद्वारबाट नेत्र र टोखाबाट चित्र 'एमफेटामिन' सहित समातिएका थिए। प्रहरीले बैंकक हुँदै आएका उनीहरुले बच्चाको खेलौना, सुटकेसको डन्डी, क्रिमको डब्बामा लुकाई ल्याएको ३ सय २ ग्राम एमफेटामिन फेला पारेको थियो।
प्रकाशित: २२ वैशाख २०७३ २१:४२ बुधबार