समाज

७१ जिल्लामा पाठ्यपुस्तक अभाव, २० लाख पुस्तक छाप्न बाँकी

काठमाडौं–विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको १५ दिन भइसकेको छ । देशका ७१ जिल्लाका लाखौँ विद्यार्थीले पाठ्यपुस्तक पाएका छैनन् ।

शैक्षिक सत्रको शुरुवातमै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने दाबी गरेको सरकारले अझै २० लाख थान भन्दा बढी पाठ्यपुस्तक छाप्न सकेको छैन ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो निवास नजिकैको महेन्द्र माविमा वितरण गरेका कक्षा ९ र १० का अपुरो सेट वितरण गरेका थिए । उनले वितरण गरेको सेटमा समेत कक्षा ९ को लेखा, कक्षा १० ऐच्छिक गणित र कक्षा ६ को सामाजिक बिषयका पुस्तक थिएनन ।

देशभरका सबै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउने भन्दै सरकारले वैशाख ५ देखि १५ गतेसम्म 'पाठ्यपुस्तक वितरण अभियान' नै चलाएको थियो । तर, बुधबार अभियान सकिँदासम्म देशका ७१ जिल्लाका लाखौँ विद्यार्थी पुस्तक पाउनबाट बञ्चित भएको तथ्यांक शिक्षा विभागबाट प्राप्त भएको छ ।

विभाग स्रोतले नागरिकलाई उपलब्ध गराएको तथ्यांक अनुसार फागुनबाट शैक्षिक सत्र शुरु भएका चार हिमाली जिल्ला डोल्पा, मनाङ, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा पुस्तक पुगेको छैन । देशभरका जिल्ला शिक्षा कार्यालय तथा क्षेत्रिय शिक्षा निर्देशनालयले पठाएको तथ्यांक अनुसार कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तकमा भने कुनै जिल्लामा समस्या छैन ।

तर, ६ देखी १० सम्मका पुस्तकमा भने १० देखी ९० प्रतिशतसम्म समस्या देखिएको छ । कतिपय जिल्ला पुस्तकनै पुगेका छैनन भने कतिपय जिल्ला अपुरो सेट मात्र पुर्याइएको छ । विभागले उपलब्ध गराएको तथ्यांक अनुसार कक्षा ६ देखी १० सम्म कुल १ एक करोड ७७ लाख ५३ हजार २ सय १८ थान पुस्तक आवश्यक पर्ने छ । तीमध्ये छाप्न बाँकी २० लाख थान पुस्तक कक्षा ६ र ७ कक्षाका हुन भने कक्षा ९ र १० का केही ऐच्छिक विषयहरु पनि छपाई सकिएर बाँइन्डिङ लगायतका कामको अन्तिम अवस्थामा पुगेका छन् ।

पुस्तकको समस्या सबैभन्दा बढी दुर्गम जिल्ला मुगुमा छ । पुस्तक वितरण अभियान सकिएको अन्तिम दिन बुधबार साँझसम्म मुगुमा एक थान पुस्तक पनि पुगेको छैन । यस वर्षको शैक्षिक सत्रमा त्यस जिल्लामा कुनै पनि कक्षाका पुस्तकहरु पुगेका छैनन । मुगुले विभागमा उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा गत वर्षको कक्षा १ देखी १० सम्मको १२ सय थान पुस्तक केही समय अघि मात्र आएको थियो ।

दुर्गम जिल्ला मुगु मात्र होइन पाठ्यपुस्तकको समस्या राजधानीसहित उपत्यकाका तीनवटै जिल्लामा पनि छ । काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला शिक्षा अधिकारीले दिएको जानकारी अनुसार तीनवटै जिल्लामा कक्षा ६ देखी १० सम्मका पुरा सेट किताब छैनन । भक्तपुरका १ सय २८ विद्यालयमध्ये १ सय २२ वटामा पाठ्यपुस्तक पुगेको छ भने बाँकी ६ वटा विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक पुगेका भनिएका विद्यालयमा पनि कक्षा ६ देखी १० को ऐच्छिक विषयका पुस्तक धेरै विद्यालयमा पुग्न बाँकी छ । काठमाडौं र ललितपुरमा भने अनिवार्य विषयका केही र ऐच्छिक विषयका पुस्तक आउन बाँकी छ ।

विद्यालय तहको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षा सामाग्री केन्द्रले समयमा पाठ्यपुस्तक छाप्न नसक्दा र छापिएका पुस्तकहरु गोदामबाट ढुवानी नगर्दा पाठ्यपुस्तक अभाव भएको हो ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिल कुमार झाले कक्षा १ देखी ५ सम्मका पाठ्यपुस्तकमा कुनै समस्या नरहेको र अरु कक्षाका पाठ्यपुस्तक समेत छपाई सकिएको दाबी गरे । 'हामीले विद्यालयमा पाठ्यपुस्तक पठाईसकेका छौँ । केही जिल्लामा ढुवानीमा समस्या हुँदा पुग्ने क्रममा छ' उनले भने ।

उनले छाप्न बाँकी रहेको २० लाख थान पुस्तकका विषयमा भने केही बोल्न चाहेनन् । तर, केन्द्रले बुधबार विभागलाई २० लाख थान पुस्तक 'फिनिसिङ'का क्रममा रहेको जानकारी दिएको छ । केन्द्र स्रोतका अनुसार फिनिसिङका क्रममा रहेका भनिएका पुस्तक अझै छापामा धमाधम छापिदै छन् ।

जिल्ला शिक्षा कार्यालय रोल्पाले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा अझै ४० प्रतिशत विद्यार्थीका लागि पुस्तक अभाव छ । जिल्लाका ५० प्रतिशत विद्यार्थीले पाठ्यपुस्तक पाएका छन् भने १० प्रतिशतलाई अझै वितरण गर्न बाँकी रहेको छ ।

दैलेख जिल्लामा अझै कक्षा ६ देखी १० का विद्यार्थीलाई पाठ्यपुस्तक नै गएको छैन । जिल्ला शिक्षा कार्यालयले आवश्यक पुस्तक बाटैमा रहेकाले बिहिबारसम्म आइपुग्ने संभावना रहेको जानकारी दिएको छ । अर्घाखाँची जिल्लाले उपलब्ध गराएको तथ्यांक अनुसार कक्षा ६ मा चार हजार, कक्षा ७ मा ३५ सय, कक्षा ८ मा ३ हजार, कक्षा ९ मा २ हजार र कक्षा १० मा पनि २ हजार सेट पुस्तक अपुग छ । यस्तै अछाममा कक्षा ६ मा ११ सय, ७ मा ८ सय ५०, ८ मा ३ सय ९०, ९ मा ६ सय ४० र १० मा ७ सय ३० सेट पुस्तक अपुग छन् ।

रसुवाले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा कक्षा ६ देखी १० सम्मका विद्यार्थीलाई अझै २० प्रतिशत पुस्तक अपुग छ । जिल्ला शिक्षा कार्यालय बाराका अनुसार जिल्लामा कक्षा ६ देखी १० सम्म ४ हजार सेट पुस्तक अपुग छन् भने कक्षा ९ को कुनै पनि पुस्तक आइपुगेको छैन । पर्सामा अझै ५० प्रतिशत पुस्तक पुग्न बाँकी छ । यसैगरी, अन्य जिल्लाहरुले कक्षा ६ देखी १० सम्मका ऐच्छिक र अनिवार्य विषयका नेपाली, सामाजिक, विज्ञान लगायतका पुस्तक अभाव रहेको तथ्यांक विभागमा पठाएका छन् ।

प्रकाशित: १५ वैशाख २०७३ २०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App