समाज

एमालेकी निवर्तमान सांसद रेखा झाको ‘फ्ल्याट’बाट मिटरब्याजी कार्की पक्राउ

सह शीर्षकदोलखा

मिटरब्याजी तेजबिक्रम पक्राउ परेपछि शनिबार साँझ जिल्ला प्रहरी कार्यालय दोलखा आईपुगेकी एमालेकी निवर्तमान प्रतिनिधि सभा सांसद झा। तस्विर: रमेश/नागरिक

शनिबारबाट कार्यकाल सकिएको प्रतिनिधि सभाकी एमाले सांसद रेखा झाको इमाडोल स्थित फ्ल्याटबाट प्रहरीले ठगी आरोपमा मिटरब्याजी तेजबिक्रम कार्कीलाई पक्राउ गरेको छ।  

शनिबार मात्र अन्तिम बैठक बसेर कार्यकाल सकिएको भनिएको प्रतिनिधि सभाकी एमाले सांसद झाको ललतिपुरको इमाडोलमास्थित निवासबाट प्रहरीले मिटरब्याजमा मुछिएका कार्कीलाई पक्राउ गरेको हो। झा रौतहटबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फकी एमाले सांसद हुन्।  

दोलखाका एक जना निर्माण व्यवसायीको उजुरी पछि प्रहरीले कार्कीलाई ललितपुर प्रहरीको सहयोगमा इमाडोलमाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्ला प्रहरीका अधिकारीहरुका अनुसार मेलुङ ७ का निर्माण व्यवसायी प्रकाश कार्कीले आफूमाथि चर्को मिटरब्याज असुलेर तेजबिक्रमले ठगी गरेको उजुरीका आधारमा उनलाई निवर्तमान सांसद चौधरीको निवासबाट पक्राउ गरिएको हो।  

निर्माण व्यवसायी कार्कीलाई १ करोड रुपैयाँ दिएर १२ करोड असुलउपर गरेको आरोप तेजबिक्रम माथि छ। पटक पटक गरेर रकम दिएपनि तेजबिक्रमले रौतहटमा रहेको आफ्नो साईटमा सबै निर्माण सामग्री, उपकरण, मेसिन औजार कब्जा गरेको र आफूमाथि पटक पटक स्थानीय गुण्डा लगाएर अपहरण गरेको पिडितले बताएका छन्। दोलखाको मेलुङमा पुख्र्यौली घर भएका तेजबिक्रम रौतहटको चन्द्रनिगाहापुर बस्दै आएका थिए। उनी मिटरब्याजमा पैसा लगाएर ठगी गर्दै आएका थिए। चन्द्रनिगाहापुरमा उनीविरुद्ध आफ्नै दाजु सहित थुप्रै ठगीको अभियोग रहेको स्थानीयले बताएका छन्। उनले सांसद चौधरीसहित धेरै स्थानीय र प्रभावशाली पूर्व प्रहरी अधिकारीहरुको पैसा चलाएर मिटरब्याजमा लगाउने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ।  

प्रहरीले तेजक्रिमलाई एमालेकी निवर्तमान सांसद झाको फ्ल्याटबाट पक्राउ गरेर दोलखा चलान गरेयता सांसद झाले उनलाई छाडेकी छैनन्। आईतबार साँझसम्म उनी जिल्ला प्रहरी कार्यालय दोलखामा छिन्। शुरुमा तेजबिक्रमसंग आफ्नो कारोबार मात्र रहेको बताएकी उनले पछि तेजक्रिम आफ्नो स्वकीय सचिव रहेको र उनी निर्दोष रहेकाले उनलाई सहयोग गर्न दोलखा आएको सुनाईन्। ‘उ मेरो स्वकीय हो, प्रहरीले झुठा लाञ्छाना लगाएर पक्राउ गरेपछि समन्वय गर्न उसको श्रीमती र परिवारलाई खबर गरेर दोलखा आएको हुँ’ उनले भनिन्– ‘निर्दोष मान्छेलाई ललितपुरबाट उठाएर दोलखा ल्यायो प्रहरीले गलत गर्‍यो’।

जिल्लाका प्रहरी प्रमुख गंगा प्रसाद पौडेलले पिडितको जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरिएको सुनाए। उनलाई मुलुकी अपराध संहिताको ठगी/आपराधिक लाभ सम्बन्धी मुद्दामा कार्बाही गरिने उनले बताए। अरु पनि तानिदै दोलखा प्रहरीले चर्को मिटरब्याज असुलेर ठगी गर्दै आएका मिटरब्याजमा संलग्नहरुको जिल्लाका अन्यको खोजी शुरु गरेको छ।

तेजबिक्रमका पछाडी दोलखा जिल्लाका केहीको संलग्नता हुन सक्ने प्रहरी आशंका छ। केही दिन अघि जिल्लाका केही प्रभावशाली व्यवसायी र मानिसहरु उपर जिल्ला प्रशासनमा मुद्दा परेको थियो। सदरमुकाम चरिकोटका एक जना प्रतिष्ठीत व्यवसायीका छोरासहित प्रभावशाली व्यक्तीहरुविरुद्ध परेको चर्को मिटर ब्याज र ठगी सम्बन्धी उजुरी बिभिन्न दबाबमा जिल्ला प्रशासनबाट मिलापत्र गराएर पठाईएको जिल्ला प्रशासन स्रोतले बताएको छ। प्रहरीले पिडितहरुको खोजी कार्य जारी राखेको जनाएको छ। पिडितहरुलाई सम्पर्कम आउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ। 

प्रकाशित: २ आश्विन २०७९ १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App