समाज

जुत्ता काराखानामा लागेको आगो नियन्त्रण लिन सुरक्षा निकायलाई सकस

सुरक्षा निकायको अथक प्रयासपछि काठमाडौँ बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा लिन सात वटा दमकल सत्र वटा ट्याङ्कर र २८५ जना सुरक्षाकर्मी परिचालन गर्दा पनि झण्डै ३ घण्टापछी आगो नियन्त्रणमा आएको हो।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वल्र्ड फुटवेयरमा आज बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो केहीबेर अगाडि नियन्त्रणमा आएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सातवटा दमकल र १७ वटा पानीको ट्याङ्करको प्रयोग गरेर नियन्त्रणमा लिएको राससलाई जानकारी दिनुभयो। विद्युत् ‘सर्ट’ भएर लागेको आगो झण्डै तीन घण्टापछि नियन्त्रणमा आएको हो।

आगो नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताउनुभयो।

यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरबबाट ५० जनाको टोली खटिएको थियो। आगलागीमा करोडौँको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिनुभयो। घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २५ श्रावण २०७९ ११:०५ बुधबार

बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो नियन्त्रण