समाज

चिनियाँको कल सेन्टर धन्दा:नेपालमा सेल्टर, भारतमा कारोबार

फाइल तस्बिर

गत आइतबार र सोमबार क्रमशः काठमाडौं र रूपन्देहीमा रहेका दुईवटा अवैध कल सेन्टरमा प्रहरीले छापा मार्‍यो। आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा रहेको ब्लु स्काई बिजनेस सोल्युसन प्रालि (कल सेन्टर)मा प्रहरीले छापा मारेर २ सय ५८ जना पक्राउ गरेको थियो भने सोमबार काठमाडौं तिनकुनेको गैरीगाउँमा रहेको स्काई वल्र्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारेर ३६ जनालाई पक्राउ गरेको थियो।

प्रहरीले छापा मारेका यी दुवै कल सेन्टरका धेरै समानता छन्। दुवै कल सेन्टर चिनियाँ लगानीमा सञ्चालित हुन्। जसमा भारतीय नागरिकको पनि संलग्नता छ। दुवै कम्पनीले विभिन्न चिनियाँ एप प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएको प्रहरीको दाबी छ। यसबाहेक अश्लीलता प्रयोग गरेर ब्ल्याकमेल गर्ने धम्क्याउने र असुली गर्ने विधि पनि प्रयोग गरिएको छ।

यही प्रकृतिका घटना यी मात्रै पहिलो भने होइनन्। नेपाल प्रहरीले बेलाबेलामा यस्तै प्रकारका कल सेन्टरहरूमा छापा हान्दै आएको छ। जसको ‘जरो’ खोज्दै जाँदा चिनियाँ नागरिकसम्म पुग्छ। पहिलो पटक २०७६ साल पुस ७ गते काठमाडौंका विभिन्न ठाउँबाट १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को नेतृत्वमा सञ्चालित अपरेसनले मनमैंजु, बूढानीलकण्ठ र बाँसबारीका नौवटा घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको थियो।

उनीहरूका साथबाट प्रहरीले ७ सय ४७ थान मोबाइल, ३ सय ३१ थान ल्यापटप, ९८ थान कम्युटर सिपियु, ९९ थान मोनिटर, २२ थान पेनड्राइभ, ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो। उनीहरूको धन्दा पनि कल सेन्टरकै जस्तो थियो। यस्तै २०७८ फागुन १० गते भक्तपुरको सानोठिमीमा रहेको एक घर भाडामा लिएर चलाइएको कल सेन्टरमा प्रहरीले छापा हानेर ८१ जना पक्राउ गरेको थियो भने त्यसैदिन काठमाडौंको बानेश्वरबाट १३ नेपाली युवती र एक चिनियाँसहित ३७ जना पक्राउ परेका थिए।

नेपालबाट भारतमा धन्दा !

चिनियाँको संलग्नतामा चल्ने यस्ता कल सेन्टरको धन्दा नेपालभन्दा बढी भारत केन्द्रित रहेको प्रहरी अनुसन्धानले देखाउँछ। विभिन्न किसिमका ऋण तथा सापटी दिने एपको प्रयोग गरी त्यसबाट ठगी धन्दा चलाउने गरेको पाइएको प्रहरी स्रोत बताउँछ। भारतमा ठूलो मात्रामा रहेका निम्न वर्गलाई लक्षित गरी सानो–सानो रकमको ऋण उपलब्ध गराउने र त्यसमार्फत चर्को ब्याज असुल गर्ने यी कल सेन्टरको मुख्य उद्देश्य रहेको पाइएको छ।

‘यसका लागि ‘जी–पे’, ‘इजी–लोन’, र ‘गो–लोन’ जस्ता नामका एपहरू प्रयोग गरिने गरेका रहेछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा ‘छोटो समयका लागि ऋण चाहिए एप डाउनलोड गर्नुहोस् र सजिलै पाउनुहोस्,’ भनेर विज्ञापन दिएर लोभ्याउने डाउनलोडपछि ठगी धन्दा सुरु हुने रहेछ।’ यस्तो एपको भारतीय टेलिभिजनमा समेत प्रचार गर्ने गरिएको ती अधिकृत बताउँछन्। त्यो एप डाउनलोडपछि खाता खोल्दा आधारकार्ड वा मतदाता परिचयपत्र माग्ने र त्यसैबाट अन्य थप सूचना चोरेर असुलीमा प्रयोग हुने गरेको पाइएको छ।

यसरी खाता खुलेपछि यस्ता एपमार्फत केहीदिनका लागि ५० हजारसम्मको ऋण दिने प्रबन्ध मिलाइने गरेको पाइएको छ। यसका लागि फाराम भर्न लगाएर विभिन्न प्रक्रिया पूरा गरेपश्चात डिजिटल वालेटमार्फत ऋण मागकर्तालाई पैसा उपलब्ध गराउँछन्।

त्यही ऋण प्रवाह र ब्याज असुलीको कारोबारका लागि नेपालमा कल सेन्टर खोलिएको पाइएको छ। ऋणीले समयमै साँबा र ब्याज चुक्ता नगरे नेपालमा सञ्चालित कल सेन्टरबाट ताकेता गर्ने, गाली गरेर थर्काउने, धम्क्याउने, उनीहरूको व्यक्तिगत सूचना चोरेर ब्ल्याकमेल गर्ने, मानसिक तनाब दिनेलगायतका गतिविधि सञ्चालन हुनेगरेको प्रहरी अनुसन्धानले देखाएको छ। जसमा नेपाली नागरिक प्रयोग गर्ने गरिएको पाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ।  

समयमै ऋणको साँबा र ब्याज चुक्ता नगर्ने व्यक्तिहरूको मोबाइल, फोन, बैंक खाता सबै ह्याक गर्नेसम्मका हर्कतमा यस्ता कल सेन्टरले काम गर्ने गरेका छन्। यसरी सबैकुरा ह्याक गरेपछि पनि असुली सम्भव नभए ऋणीका आफन्त, नातागोता, साथीभाइलाई समेत फोन गरेर धम्क्याउने, बेइज्जत गर्ने, उनीहरूको सूचनासम्म ह्याक गर्ने दाउमा पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

नेपालीलाई कामअनुसार तलब

यसरी खुलेका अवैध कल सेन्टरमा नेपाली युवायुवतीलाई उनीहरूको काम अनुुसार तलब दिनेगरेको पाइएको छ। सुरूमा ७/८ हजार तलब दिएकाहरूले चिनियाँहरूको चाहना अनुसार काम गर्दै गए ८० हजारसम्म तलब दिने गरेको पत्ता लागेको छ।

‘त्यो भनेको जसले बढीलाई ऋण लिन लोभ्याउन सक्यो, बढीभन्दा बढीसँग ऋण अशुली गर्नसक्यो, नराम्ररी गालीबेइज्जती गर्ने, सूचना चोर्ने काम गर्नसक्यो उसले बढी तलब दिने गरेको रहेछ,’ एक प्रहरी अधिकृतले भने। यसबाहेक बढी काम गरे थप कमिसनको पनि दिने गरिएको पाइएको ती अधिकारीले बताए।

कारबाही फितलो

बिगतमा पक्राउ परेकाहरूको कारबाही प्रक्रिया भने निकै फितलो देखिएको छ। गत फागुनमा सानोठिमीमा पक्राउ परेका ८१ जनामध्ये एकजना चिनियाँसहित चारजनालाई मात्रै मुद्दा चलाइएको छ। उनीहरूलाई जिल्ला अदालतले अदालतले ‘जिम्मा जमानी’मा छाडेको छ भने अनुसन्धान जारी नै रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। यस्तै २०७६ मा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई जनही जम्मा एकहजार जरिवाना गरिएको थियो। त्यसपछि उनीहरूलाई डिपोर्ट गरेर उनीहरूको देश पठाइएको थियो।

प्रकाशित: १५ श्रावण २०७९ ०३:२१ आइतबार

चिनियाँको कल सेन्टर