समाज

के सर्लाही लागूऔषधको हब बन्न लागेको हो?

सांकेतिक तस्बिर

विभिन्न किसिमका लागूऔषध सर्लाहीमा धमाधम पक्राउ परिरहेको छन्। केही महिनादेखि सर्लाहीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैले लागूऔषध धमाधम पक्राउ गरिरहँदा लागूऔषध ओसारपसारको केन्द्र सर्लाही बन्न लागेको हो कि भन्ने आशंका बढेको स्थानीयबासी बताउँछन्।  

गत बुधबारको करिब मध्य रातमा सर्लाहीको सशस्त्र प्रहरी बलले बागमती नगरपालिका १० सोल्टीका २३ वर्षीय सुमन विकलाई विष्णु गाउँपालिका १ बाराबाट लागूऔषधसहित करिब १८ लाख अवैध रुपैयाँसमेत पक्राउ गरेको थियो। विकलाई २ ग्राम २१० मिलिग्राम खरानी रंगको हिरोइनजस्तो पदार्थसहित पक्राउ गरिएको हाे।  

शुक्रबार सर्लाही प्रहरीले चन्द्रनगर गाउँपालिका २ बबरगंजका ५३ वर्षीय तुल्सी साहलाई निजको घरबाटै २२ पुरियामा ७० ग्राम गाँजासहित पक्राउ गरेको छ। विक र साहलाई नियन्त्रणमा लिइ लागू औषध मुदामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत हप्ता एक वरिष्ठ हवलदारलाई नै ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीले पक्राउ गरेको थियो।सर्लाहीको दक्षिणी सिमानादेखि राजमार्गसम्म हरेक महिना लागूऔषध ओसारपसार, बिक्री वितरण तथा भन्डारणको आरोपमा प्रहरीले मानिसलाई पक्राउ गरिरहेकै छ। प्रहरीले भारी मात्रामा विभिन्न किसिमका लागू औषध बरामद गरिरहेकै छ।  

सर्लाहीमा निरन्तर प्रतिबन्धित लागू औषध बरामद भइरहँदा लागूऔषध ओसारपसार, बिक्री वितरण तथा भन्डारको हब बनेको हो कि भन्ने आशंका सर्लाहीबासीले गरिरहेका छन्।  

लागूऔषध नियन्त्रणको प्रहरीको प्रयास सार्थक रहेको भए पनि निरन्तर यस्ता घटनाले सर्लाहीमा लागूऔषधको कारोबार फस्टाएको देखिएको सर्लाहीबासीको भनाइ छ।  

प्रकाशित: ६ श्रावण २०७९ १३:५० शुक्रबार