समाज

बालिकालाई अपहरण गरी फिरौती माग्ने युवक पक्राउ

रौतहटमा बालिकालाई अपहरण गरी फिरौती माग गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। बालिकालाई अपहरण गरी बीस लाख रुपैयाँ फिरौती माग गर्ने ईशनाथनगरपालिका ७ का २४ वर्षीय महम्मद अबिर हुसैनलाई रौतहट प्रहरी पक्राउ गरेको छ।

बिहीबार साँझ एक बालिकालाई अपहरण गरी बालिकाका पितालाई फोन गरेर बीस लाख रुपैयाँ लिई शेख इद्रिस गेटमा आउन र कसैलाई जानकारी गराएमा बालिका ज्यान मारी फालिदिने धम्की दिइएको कुरा प्रहरीले थाहा पाएपछि प्रहरीले गहन रुपमा खोजतलासमा जुटेको थियो।

अपहरणकारीले पैसाको लागि भनेको ठाउँ इद्रिश गेटमा पुगी प्रहरीले वरपर तथा बहुअर्वा मदर्सा अगाडिसम्म खोज तलास गर्दा पीडित बालिकालाई खोज तलासको क्रममा राजपुर नगरपालिका १ बहुअर्वा मदर्सा अगाडि सडक छेउमा रहेको गुम्ती पसल नजिक वाँसले बनाएको खाटमा सुताई राखेको फेला पारेको थियो।

अपहरित बालिका भएकै स्थानमा पिडितलाई बन्धकबनाई फिरौती रकम माग गर्ने रौतहटको ईशनाथ नगरपालिका ७ का महमदअविर हुसैनलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले बालिकाको उद्धार गरी अपहरण गर्ने हुसैनलाई नियन्त्रणमा लिएर सोधखोज गर्दा घटनाको पुष्टि भएको थियो।

अपहरणकारीले प्रयोग गरेको बी आर ०५ ए एफ ०२८२८ नम्बरको भारतीय मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले शुक्रबार हुसैनलाई रौतहट जिल्ला अदालतमा पेश गरी पाँच दिनको थपम्याद गराएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

प्रकाशित: २४ असार २०७९ १३:३१ शुक्रबार

रौतहट