समाज

भेरी अस्पतालभित्र बिचौलियाको बिगबिगी

नेपालगन्जस्थित भेरी अस्पताल परिसर। तस्बिर: नागरिक

बढैयाताल, बर्दियाका मंगल थारु गत सोमबार आफन्तलाई उपचार गराउन नेपालगन्जस्थित भेरी अस्पताल आए। अस्पतालको ओपिडी वार्डमा रहेका चिकित्सकले बिरामीको रगत र दिसा, पिसाब जाँच गरेर रिपोर्ट ल्याउन लगाए। 

अस्पतालभित्रै रहेको प्रयोगशालातर्फ मंगल जादै थिए, ओपिडी कक्षको सामुन्ने कुरिरहेका एक जना बिचौलियाले उनलाई निजी प्रयोगशालामा जान अनेकौं प्रलोभन देखाए। अस्पताल भित्रको प्रयोगशाला राम्रो नभएको र रिपोर्ट पनि ढिलो आउने भन्दै बिचौलियाले उनलाई भ्रम सिर्जना गरे। त्यसपछि मंगलले बोकेको पर्चा बिचौलियाले नै समातेर बाहिर रहेको निजी प्रयोगशालामा पुर्‍याए।

दाङ, तुलसीपुरकी प्रतिभा केसी छोरीको उपचार गर्न यसै साता नेपालगन्ज आएकी थिइन्। भेरी अस्पतालमा सबै सुबिधा रहेको थाहा पाएपछि उनले सरकारी अस्पतालमै उपचार गराउने निधो गरिन्। भेरी अस्पतालको ओपिडी कक्षमा उनले डाक्टरलाई भेटिन्। डाक्टरले छोरीको एक्सरे गर्न र रगत जाँच गरेर रिपोर्ट ल्याउन सल्लाह दिए। डाक्टरको सल्लाह बमोजिम पर्चा बोकेर अस्पतालको प्रयोगशालातिर जादै गर्दा बिचौलियाले उनलाई बाटोमा रोके। भित्रभन्दा बाहिर नै भरपर्दो रिपोर्ट आउने र रिपोर्ट पनि छिटो दिने भन्दै हातले धकेल्दै बिचौलियाले बाहिर रहेको निजी प्रयोगशालामा पुर्‍याए।  

यी त प्रतिनिधी मुलक घटना मात्र हुन्। भेरी अस्पताल परिसरमा अचेल यस्ता बिचौलियाको बिगबिगी नै बढेको छ। निजी स्वास्थ्य संंस्थाले बिरामी र उनका कुरुवालाई भ्रममा पारेर जबरजस्ती अस्पताल बाहिर पुर्‍याउने गरेका छन्। बिचौलियाको बिगबिगी बढ्दा अस्पतालमा पुग्ने सेवाग्राहीले निजी स्वास्थ्य संस्थाबाट महंगोमा सेवा लिनु परेको छ। बिचौलियाको बिगबिगी बढ्नुमा अस्पतालभित्रै रहेका कर्मचारीको समेत मिलेमतो रहेको अस्पताल स्रोतले जनाएको छ।  

अस्पतालकै कतिपय कर्मचारीले बाहिर निजी स्वास्थ्य संस्था समेत चलाएका छन्। उनीहरुले आफ्नो ड्युटीको समयमा समेत बिरामीलाई सिधैं आफ्नो निजी स्वास्थ्य संस्थामा पठाउँछन्। कतिपय कर्मचारीले बाहिरका निजी स्वास्थ्य संस्थासँग कमिसन लिएर बिचौलियामार्फत बिरामी तथा उनका आफन्तलाई महंगोमा जान बाध्य बनाउने गरेको पीडितको गुनासो छ।  

भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ पछिल्लो समयमा अस्पताल परिसरमा बिचौलियाको बिगबिगी नै बढेको स्वीकार गर्छन्। ‘अस्पतालले बिरामीका लागि सस्तो शुल्कमा सेवा दिइरहेको छ, तर बाहिरबाट निजी स्वास्थ्य संस्थाका बिचौलिया आएर बिरामी र उनका आफन्तलाई महंगोमा उपचार गराउन बाध्य पारेका छन्,’ श्रेष्ठले भने। उनका अनुसार अस्पतालले चौबिसै घण्टा प्रयोगशालासहित एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान लगायतका सेवाहरु दिइरहेको छ।  

कुनै समयमा यि सेवाहरु बिरामीलाई उपलब्ध गराए वापत अस्पतालले दैनिक रुपमा साढे ३ देखी ४ लाख रुपैयाँसम्म आम्दानी गथ्र्यो। तर, अहिले बिचौलियाको बिगबिगी बढेपछि आम्दानी आधा घटेर दैनिक १ देखी डेढ लाख रुपैयाँ मात्र हुने गरेको श्रेष्ठले सुनाए। बिचौलियालाई नियन्त्रण गर्न अस्पताल विकास समितिले निगरानी बढाएको उनले बताए। ‘बिचौलियाको बिगबिगी बढ्दा अस्पतालको आम्दानी अहिले आधा घटेको छ,’ उनले भने ‘बिचौलियालाई नियन्त्रणमा लिन अस्पताल विकास समितिले निगरानी बढाएको छ, सादा पोशाकमा प्रहरी परिचालन गरेर बिचौलियालाई नियन्त्रणमा लिने योजना बनाएका छौंं।’  

भेरी अस्पतालमा बिचौलिया गरेको आरोपमा पक्राउ परेका व्यक्ति।

अस्पतालले प्रदान गर्ने हरेक सेवा बाहिरको निजीभन्दा आधा बढी सस्तो रहेपनि बिरामी र कुरुवाले उनीहरुलाई भ्रम सिर्जना गर्ने गरेको सदस्य श्रेष्ठ बताउँछन्। बिचौलियाले बिरामीलाई पुर्याए वापत निजी स्वास्थ्य संस्थाले उनीहरुलाई कमिसन दिने गर्छन्। बिरामीले हरेक सेवा अस्पतालभित्रै सस्तो शुल्कमा पाउने गरेको बताए।  

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बीरेन्द्र चन्दले बिचौलियाका कारण बिरामीहरुले निजी स्वास्थ्य संस्थामा महंगो पैसा तिर्न बाध्य भएको बताए। अस्पताल क्षेत्रमा बिचौलियाको बिगबिगी रोक्न कानुनी कारबाही गर्नुको विकल्प नभएको उनको भनाई छ। ‘जो निजी स्वास्थ्य संस्थाले बिचौलियालाई अस्पतालभित्र पठाउँछ, त्यस्तालाई पहिचान गरेर पक्राउ गरी कारबाही गर्ने बितिकै यो सबै बेथिती नियन्त्रणमा आइहाल्छ,’ उनले भने। बिचौलियाको गतिविधी रोक्न अस्पतालले यसअघि पटक पटक सचेत गराएको मेसु चन्दले स्मरण गरे।  

अस्पताल क्षेत्रमा बिचौलियाको बिगबिगी धेरै नै बढेपछि अस्पताल प्रशासनको आग्रहमा मंगलबार प्रहरीले पाँच जना बिचौलियालाई नियन्त्रणमा लियो। बिरामी तथा कुरुवालाई आफ्नो मेडिकलबाट औषधी किन्न र ल्याब जाँच गराउन दवाव दिइरहेको देखेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएका ३ जना महिला र २ जना पुरुष (बिचौलिया) लाई पहिलो पटकका लागि सम्झाई बुझाई गरेर छाडिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले बताए। ‘एक पटकलाई सम्झाई बुझाई गरेर छाडेका छौं, फेरी पनि अस्पतालभित्र बिचौलियाको काम गरेको पाइएमा कानुनी प्रक्रिया अगाडी बढाउँछौं,’ न्यौपानेले भने। प्रहरी अब सादा पोशाकमा खटिएर बिचौलियालाई पक्राउ गर्ने योजनामा रहेको बताए।

प्रकाशित: १५ असार २०७९ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App