म्याग्दीमा विपद्को पूर्व तयारी तथा प्रतिकार्यलाई व्यवस्थित र प्रभावकारी बनाइने भएको छ। बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित जिल्ला विपद् व्यवस्थापन समिति एवम् सरोकारवाला निकायको बैठकले विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका क्षेत्रहरूमा विषेश निगरानीसहित बस्ती–बस्तीसँग जोडिने गरी पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो।
प्राकृतिक विपत्तीबाट उच्च जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्ने, अस्थायी संरचना तथा स्वास्थ्य उपचारका लागि दु्रत समुहलाई परिचालन गर्ने, अति आवश्यक बाहेक स्वास्थ्यका कर्मचारीलाई कार्यक्षेत्रबाट बाहिर जान नदिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताए।
उनले सम्भावित जोखिम स्थानमा बसोबास गर्नेको लगत संकलन गरी स्थानीय तह, विपद् व्यवस्थापन समितिलाई जानकारी दिने, ठूला नदीमा बाढीको सम्भावनालाई मध्यनजर गरी सूचना दिने व्यक्ति खटाउने, राहतलाई एकद्धार प्रणालीबाट वितरण गर्ने, प्रयाप्त खाद्यान्न, औषधिसहितका बस्तुको उपलब्धतालाई ध्यान दिने लगायत गरी १५ बुँदे निर्णय गरेको बताए। ‘विपद्को सामाना गर्न सबै क्षेत्रको सहयोग आवश्यक पर्छ,‘सरकारी स्रोतसाधनले मात्रै प्रयाप्त हुदैन’ प्रजिअ रानाले भने। विपद्मा परिचालन गरिने स्वंयमसेवकलाई क्षमता अभिवृद्धिका लागि समेत स्थानीय तहले आवश्यक तयारी गर्ने बताए। उनले जिल्लाको लाइफलाइन मानिएको बेनी–जोमसोम, बेनी–दरबाङ सडकखण्ड सहित निर्माणधिन अवस्थामा रहेका आयोजनालाई कम्तीमा एक स्काभेटर, डोजर तयारी अवस्थामा राख्न निर्देशन दिइएको बताए।
बैठकमा सहभागी सरकारी निकाय, सुरक्षा अधिकारीले विपद् प्रतिकार्य क्षमताको लेखाजोखा गरी मानवीय सेवालाई प्रभावकारी ढङ्गबाट पु¥याउन आवश्यक स्रोतसाधनको परिचनलका लागि स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। बैठकमा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, अन्नपूर्णका अध्यक्ष भरत पुन, मंगलाका अध्यक्ष सतप्रसाद रोका, मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धवलागिरीका अध्यक्ष प्रेम पुन, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले विपद्को जोखिम न्यूनिकरण र खोज तथ उद्धारमा सम्पूर्ण शक्ती केन्द्रित गर्ने बताएका थिए।
स्थानीय सरकारसँग विपत्तका वेला आवश्यक खोज, उद्धार, प्रविधी र जनशक्तिको अभावले विगतमा परेको समस्यालाई यसपटक न्यूनिकरण गर्ने जनाएको छ। अधिक भिरालो तथा कमजोर भूवनावट, खोलानालाको किनारा, पहिरो प्रभावित क्षेत्रमा गुचुमुच्च परेका वस्ती र अब्यवस्थित मोटरबाटो समेतका विकासे योजना निर्माणले म्याग्दीका अधिकांश वस्ती बाढीपहिरोको उच्च जोखिममा छन।सदरमुकाम बेनीबजार सहित बेनी नगरपालिका र ५ गाउँपालिकाका ४५ मध्य २९ वडा पहिरोको उच्च जोखिमा छन। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेका दैविप्रकोप उद्धार समिति मातहत २४ सै घन्टा संञ्चालन हुनेगरी ले समेत सिमित स्रोतसाधनबाटै काम गरिरहेको छ।
तटिय क्षेत्रमा विपद् सम्पर्क ब्यक्ति खटाइने
जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रसँग समन्वय गर्ने गरी जिल्लाका ६ वटै स्थानीय तहले कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सहज हुने गरी सम्पर्क व्यक्ति खटाउने भएको छ। नदीको तटिय अवस्थाका बारेमा नियमित जानकारी दिने गरी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दाना, रघुगंगा गाउँपालिकाले चिमखोला, बेनी नगरपालिकाले गलेश्वर, मंगला गाउँपालिकाले बावियाचौर, मालिका गाउँपालिकाले म्याग्दी नदी र धवलागिरी गाउँपालिकाले मुदी र मुनामा तटिय क्षेत्रको अवस्थाका बारेमा जानकारी दिने गरी सम्पर्क ब्यक्ति खटाउने भएको छ। सम्पर्क ब्यक्तिलाई स्थानीय तहले ब्यवस्थापन गर्ने जनाइएको छ।नदीमा पानीको बाहब ह्वात्तै बढ्दा तटिय क्षेत्र जोखिममा पर्ने भएकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
माथिल्लो क्षेत्रमा बाढी आउँदा जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्र, जिल्ला दैविप्रकोप उद्धार समिति, जिल्ला प्रहरी सहितको सु्रक्षा निकाय वेखवर हुने गरेका थिए। यसअगाडी कालीगण्डकी र म्याग्दी नदी तटका वस्तीलाई बाढीबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न जडान गरिएको पूर्वसूचना (साईरन) प्रणाली जडान गरेपनि प्रभावकारी छैन।
अन्नपूर्ण गापा–२, तातोपानी, मंगला–बावियाचौर धौलागिरी गापा–७ ताकमको फेदी नजिक म्याग्दी नदीमा राखिएको पूर्वसूचना प्रणाली पनि अलपत्र छ। उक्त प्रणालीले बाढीको संकेत गर्ने पहिलो साईरन बजेपछि बाढी थप ५० सेन्टीमिटर बढ्यो भने पूर्णखतराको घण्टी बजाउने गरेकाले जिल्लामा प्रभावकारी मानिएको भएपनि नियमित मर्मतसंभारमा ध्यान नदिदाँ उपकरण समेत चोरी भएको छ।
प्रकाशित: २५ जेष्ठ २०७९ १४:४५ बुधबार